पोखरा । माछापुछ्रे परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।
संस्थाले शनिबार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ ।
समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो ।
सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ ।
समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी, रुकी परियार र लीला रानाभाटलाई साडीचोलो र चप्पलसहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनबहादुर शाहीले परदेशमा बसेका गाउँका भाइछोराले थालेका सामाजिक कामले गाउँप्रतिको माया बढाउने भएकाले आफ्नातर्फबाट सक्दो सहयोग गर्दै आएको बताए ।
उनले ज्ञान आर्जनका लागि समाजका हरेक व्यक्ति प्रेरणाका श्रोत बन्ने भएकाले राम्रो नराम्रो टिकाटिप्पणी भन्दा त्यसबाट आफूले ग्रहण गर्ने शिक्षा नै महत्वपूर्ण कुरा रहेको धारणा राखे ।
लाहाचोक ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले वैदेशिक रोजगार मञ्च विधिवत माछापुछ्रे परोपकारी संस्था भएर अगाडि बढेको देख्दा खुसी लागेको बताए । उनले आफू सरकारमा बसेर पनि गर्न नसकेका कार्यक्रम परोपकारी मञ्चले गरेको भन्दै लाहाचोक प्रकृतिको वरदान भएकाले अझ समुन्नत बनाउन सबैलाई एक भएर लाग्नसमेत आग्रह गरे ।
लाहाचोक ४ का पूर्व वडाध्यक्ष पूर्णबहादुर शाहीले गाउँको विकासका लागि एक्लो जनप्रतिनिधिले केही गर्न नसक्ने भएकाले सबै गाउँलेलाई विकासको अभियानमा एकजुट हुन आग्रह गरे ।
भूतपूर्व डिएसपी राजेन्द्र अधिकारीले माछापुछ्रे परोपकारी संस्थाका हिजो सुनेका भन्दा आज प्रत्यक्ष देखेका गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राखे ।
स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष असफल गौतमले जन्मभूमिमा भरोसा नपाएर परदेश भएकाहरू परदेशबाट स्वदेशको विकास र समृद्धिमा लगाएको चिन्तनप्रति स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले गाउँले धेरै आशा गरेका संस्थाका गतिविधिलाई थप उचाइमा पुर्याउन सब एक भएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा लाहाचोक साहित्य सदनका अध्यक्ष लिलाधर अधिकारी अभिलाषी, सिर्जना साहित्य सदनका सचिव पदम नेपाल, समाजसेवी मिनराज अधिकारीलगायतले परोपकारी मञ्चका गतिविधिको प्रशंसा गरेका थिए ।
समारोहमा सुरक्षा शाही, दिपेश नेपाली, कृष्टिना जिसी, लाहाचोक नौमती बाजा समूहले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।
इन्द्रप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप क्षत्रीले कार्यक्रम संयोजक राजु क्षत्री अपुरोको अथक प्रयास र मेहनतको प्रतिफल नै आजको कार्यक्रम रहेको बताए । संस्थाका सचिव सुशील श्रेष्ठले संस्था विधिवत स्थापनापछि पहिलो प्रारम्भिक साधारण सभासहितको कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
सम्बन्धित खबर
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर