स्याङ्जामा पछिल्लो समय आगलागीका घटना दिनहुँ बढेका छन् भने लाखौंको क्षति समेत भएको छ । स्याङ्जामा धेरैजसो सफा गर्ने क्रममा खेतबारीमा रहेका झाडी तथा पातपतिङ्गरहरुमा आगो लगाउँदा त्यहीँबाट फैलने गरेको भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले लामो हिउँदे खडेरीका कारण पछिल्लो समयमा बढेको आगलागीबाट धेरै घरगोठ जलेको बताएका छन् । उनले हालसम्मको विवरणमा १७ घर जल्दा १७ वटै गोठ पनि जलेको बताउँदै आगलागीबाट एकजनाको ज्यान समेत गइसकेको र तीन जना घाइते भएको जानकारी दिए ।
बिरुवा गाउँपालिका -७ कुमेरदुङकी ७३ वर्षीय रेउसरी गुरुङको पातपतिङ्गर जलाउने क्रममा आगलागी भई निभाउँदा ज्यान गएको थियो । त्यस्तै, पुतलीबजार नगरपालिका -११ करेन्डाँडाकी ४० वर्षीय गिता जिटि पनि आगलागीमा परि गम्भीर घाइते भएकी छन् भने कालीगण्डकी गाउँपालिका -५ लुम्सिङकी ५९ वर्षीय राधिका न्यौपाने पनि आगो निभाउने क्रममा गाला र दुवै हातहरु जलेर घाइते हुन पुगेको डिएसपी रानाले बताए ।
पुतलीबजार नगरपालिका -१३ सतौं भुजुङ्गेका ७२ वर्षीय डासी कोइराला बारीको झारपात जलाउने क्रममा आगलागी भई निभाउने समयमा घाइते भएको डिएसपी रानाले जानकारी दिए । उनले आगलागीका कारण जिल्लामा धेरैले भौतिक संरचना, अन्नपात, नगद, जिन्सी, गरगहना जल्दा र पशुचौपायाहरु मर्दा लाखौंको क्षति भोग्नुपरेको जानकारी दिए ।
आगलागीको प्रकृति हेर्दा वन जङ्गलमा लगाइएको आगो अचानक बस्तीमा पस्दा स्थानीयले जनधन गुमाउन परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कालीगण्डकी गाउँपालिकाको आठचौरका भरत पाण्डेको घरगोठ, तुल्सीराम न्यौपानेको गोठ, थिरालाल न्यौपानेको कुखुरा फर्म जल्दा लाखौंको क्षति भएको छ ।
यस्तै, कालीगण्डकीकै इम्सीलका मणिराम भट्टराईले गोठमा आगलागी हुँदा क्षति भोगेका छन् । पुतलीबजार १ गैरीबजारका रामेश्वर बरालको घरगोठ, बिरुवाकी जेठीमाया गुरुङको घरगोठ, बिरुवा ६ तल्लो बलेउकी बुकमाया नेपालीको घरगोठ, चौमाया नेपालीको घर, एक बहादुर बि.क.को घरगोठ, दुर्गा बहादुर थापाको धन्सार, अर्जुनचौपारीका एक नारायण सुनारको गोठ आगलागीबाट जलेको छ ।
चापाकोट नगरपालिका स्थित मैदानका तीन परिवार र बिरडाँडाका दुई परिवारले घरगोठ गुमाएका छन् । गल्याङ नगरपालिका स्थित छरककी गोमती थापाले घर, बेलबहादुर रानाले घर, नेहारसिंह थापाले गोठ गुमाएका छन् । आगलागीबाट नै गल्याङ ५ जलुके बाथ्थलाका गुण बहादुर रानाको घरगोठ, भिम बहादुर रानाको घर, बेतेलेनीका अनिरुद्र बस्यालको ढुङ्गे घर र गोठसमेत जलेको छ भने आँधिखोला गाउँपालिका स्थित कुन्तिका सिंचाइ योजनाको पाइप जलेर नष्ट भएको छ ।
सम्बन्धित पालिकाहरु, रेडक्रस सोसाइटी, विभिन्न संघसंस्थाले आगलागीबाट घरबिहिन भएकाहरुलाई सहयोग गरेका छन् । त्यस्तै, रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले आफन्त तथा तत्काल आश्रय लिन नसकेका परिवारलाई थप त्रिपालहरु उपलब्ध गराइएको जानकारी दिए । उनले वैशाख महिनाको हालसम्म ३४ घरपरिवारलाई राहतको प्याकेज उपलब्ध गराइसकेको बताए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?