अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे

रानीपौवा दुर्घटना [फलोअप]:

अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे

क्षितिज बचाऔँ अभियान मार्फत् सहयोग जुटाई निरन्तर उपचार भइरहेको थियो

kshitiz nomore

पोखरा । गत १० मंसिरमा पोखराको रानीपौवामा भएको भयानक दुर्घटनामा परी घाइते भएका १९ वर्षीय क्षितिज नेपालीको साढे ५ महिनापछि निधन भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भई पोखराको नदिपुर बस्दै आएका क्षितिज रानीपौवामा हजुरआमालाई भेटेर मोटरसाइकलमा घर फर्कने क्रममा राति पौने ११ बजे स्कुटरसँग ठोक्किएका थिए । त्यसपछि उनी अर्को लेनमा बजारिँदा गुडिरहेको बस मुनि परेका थिए ।

क्षितिजको उपचारका लागि आवश्यक खर्च नहुँदा जीवन संकटमा रहेकै बेला पदम नेपाल लगायतको पहलमा क्षितिज बचाऔं अभियान सुरु गरियो । त्यसपछि अभियानले निरन्तर सहयोगको याचना गरी रकम संकलन गर्दै आएको थियो । करिब ६ लाख रकम संकलन गरी उपचार गर्दै आएको पदमले बताए ।

टाउकोमा गम्भीर चोटका कारण मस्तिष्कमै असर पुगेकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको थियो । उनको टाउकोमा ३ पटकसम्म अपरेशन गरिएको थियो ।

धेरै लामो समयसम्म होसमा नआएको उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहँदा टाउकोमा पानी जमिरहने समस्या देखिएको थियो ।

नयाँपुल, पोखरा हुँदै काठमाडौ चल्ने संजोग ट्राभल्सको ना ५ ख १२३ नम्बरको बसभित्र मोटरसाईकलको अगाडिको भागसहित च्यापिएका क्षितिजलाई घटनास्थलका स्थानीयले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आकस्मिक कक्षमा लगेका थिए ।

क्षितिजको उपचारको शुरुवातको खर्च पनि अस्पताल लाने युवकले नै ब्यहोरेका थिए । टाउकोमा गम्भिर चोट लागेर अचेत अवस्थामा रहेका क्षितिजलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि परिवारको अत्तोपत्तो नभएका कारण भोलिपल्ट सोमवार चार बजेमात्रै टाउकाको शल्यक्रिया गरिएको थियो ।

टाउकोमा रगत जमेका क्षितिजको त्यतिबेलै खप्परको हड्डी निकालिएको थियो । १२ को अध्ययन समाप्तिपछि पोर्चुगल जाने आवश्यक प्रकृया पूरा गरेर निश्चित भएको भिसाको पर्खाइमा बसेका छोरा क्षितिज साढे ५ महिना अस्पतालको बेडमै पल्टेर परलोक हुँदा बुवा तिलक नेपाली पीडाले बेचैन छन् । सानैमा आमाले छाडेर गएपछि हुर्काएका एक्लो छोरा सानै उमेरमा गुमेपछि परिवारमा बज्रपात भएको छ ।

सम्बन्धित समाचारः

स्कुटरसँग ठोक्किएपछि बसमा च्यापिएका युवकको उपचार खर्च अभावले जीवन संकटमा

पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds