इजरायलबाट १० महिनाअघिदेखि हमासले बन्धक बनाएकामध्ये ६ जनाको शव भेटिएको इजरायली सेनाले जनाएको छ ।
इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो ।
आईडीएफले शव भेटिएकाहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँच जना इजरायली नागरिक रहेको जनाएको छ । उनीहरू कार्मेल गाट, एडेन यरुसल्मी, अलेक्जेनडर लोबानोभ, अल्मोग सारुसी र ओरी डानियो हुन् । अर्को एक जना गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पोलिन अमेरिकी नागरिक भएको पुष्टि गर्दै उनको मृत्युले ‘शोकाकुल र क्रूद्ध भएको’ बताएका छन् । हमासको एक भिडियोमा पोलिन हात काटिएको अवस्थामा देखिएका थिए । एक विज्ञप्तिमा बाइडेनले उक्त मृत्युलाई दुःखद र निन्दनीय भन्दै हमास नेताहरूले त्यसको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
आईडीएफले शव भेटिएका बन्धकलाई हमासले आफूहरू पुग्नुभन्दा केही अघि निकै क्रूर तरिकाले हत्या गरेको जनाएको छ । भेटिएका शव इजरायली भूभागमा ‘फिर्ता गरिएको’ आईडीएफले जनाएको छ । ‘अक्टोबर ७ मा बन्धक बनाइएका उनीहरूको हमास आतंकवादी संगठनले गाजापट्टीमा हत्या गरिदिएको छ,’ आईडीएफले भनेको छ ।
बेपत्ता परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ले इजरायली सरकारले युद्धविरामका लागि सहमति जनाएको भए बन्धकहरूले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति नआउने बताएको छ । फोरमले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम गर्न आग्रह गरेको छ ।
हमासले अक्टुबार ७ मा गरेको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।
कहाँ छन विपिन ?
हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सम्भव भएसम्मका सबै कूटनीतिक माध्यमहरूमार्फत पहल भइरहेको बताउँदै आएको छ । तर पनि हालसम्म उनको अवस्था अज्ञात छ ।
अक्टुबर ७ को आक्रमणमा इजरायलमा करिब १२ सय जनाले ज्यान गुमाएका थिए । त्यसको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा गाजामा ४० हजार ५ सय ३० जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित खबर
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण