पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाले राष्ट्रिय शिक्षा दिवस अवसरमा बुधबार ७ सय ६३ जनालाई सम्मान गरेको छ । दिवसको अवसरमा पोखरा सभागृहमा आयोजित समारोहमा शिक्षा महाशाखाले विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थीसमेतलाई सामूहिक सम्मान गरेको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पेसामा लगनशील भई लाग्न शिक्षकलाई सुझाव दिँदै शिक्षा क्षेत्रका कमी–कमजोरी क्रमशः हटाउँदै जानुपर्ने बताए । उनले अन्य स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गए पनि पोखरा महानगरका विद्यालयमा बढ्दै गएको स्पष्ट पार्दै पछिल्लो शैक्षिक सत्रमा मात्रै ८ हजार विद्यार्थी थपिएको उल्लेख गरे ।
‘प्रधानाध्यापकका लागि केही सुविधा पनि थपेका छौं । ५५ बुँदे निर्देशात्मक सर्कुलर पनि जारी भएको छ,’ उनले भने, ‘देशभर विद्यालय पुरस्कृत हुँदा तुलनात्मक हिसाबले पोखरा क्षेत्रका धेरै पर्नु सुखद् हो ।’ उनका अनुसार पोखरामा फरक प्रकृतिका विद्यालय पनि सञ्चालित छन् । विगतको तुलनामा यस वर्ष एसइई नजिता राम्रो आएको छ र अब विद्यालय शिक्षातर्फ एग्रो टुरिजम तथा हस्पिटालिटी विषय पनि थप गर्ने उनले बताए ।

एसइईमा ४ जिपिए ल्याउने शान्ति निकेतन स्कूलकी अदिती पराजुली सम्मान ग्रहण गर्दै
पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले शिक्षा निःशुल्क तथा सर्वसुलभ हुनुपर्ने मान्यता नारामा मात्रै सीमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सामुदायिक विद्यालयमा सरकारको निगरानी नपुगेको धारणा राखे । उनले आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने परिस्थिति आउनु नेपालीका लागि विडम्बना भएको बताउँदै १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउन नसकेकोतर्फ सचेत गराए ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षाबिनाको समाज अधुरो हुने जनाउँदै गाउँशहर सबैतर्फ शिक्षाको ज्योति फैलाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
विन्ध्यावासिनी मावि, वरपाटनका प्रधानाध्यापक वसन्तराज पाण्डेले सामुदायिक विद्यालयमा शिक्षकले जागिरे मानसिकता राख्ने गरेको गुनासो आउने गरेकोतर्फ सचेत गराउँदै शिक्षकहरु इमानदारपूर्वक कर्तव्य पथमा लम्कनुपर्ने धारणा राखे ।
महाशाखाले सामुदायिकतर्फ विन्ध्यवासिनी मावि बाटुलेचौर, संस्थागततर्फ मदरल्याण्ड मावि मासबार र प्राविधिक धारतर्फ ब्रह्मरुपा मावि, जनताको चौतारा तथा गण्डकी बहुप्राविधिक शिक्षालयलाई उत्कृष्ट शिक्षालय रुपमा पुरस्कृत गरेको छ ।
त्यसैगरी, सामुदायिकतर्फ २५ वर्ष शिक्षण गर्ने कुल ३ सय ६० शिक्षक तथा संस्थागततर्फ २० वर्ष शिक्षण गर्ने १ सय २४ शिक्षक दीर्घसेवाद्वारा पुरस्कृत भए ।
त्यस्तै, एसइईमा ४ जिपिए ल्याउने तथा कार्यसञ्चालन आधारमा ६ वटा क्स्टरबाट उत्कृष्ट हासिल गर्ने विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरियो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर शिक्षा समिति सदस्य तारानाथ पौडेलले स्वागत र शिक्षा महाशाखाका नि.प्रमुख वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीले कार्यक्रम सञ्चालन गरे ।
त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?