“पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच–छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,” सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।”
उनलाई यस वर्ष तिहार लागेजस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्मा बताउँछन् ।
“गाउँघरमा पाका पुस्ताहरू मात्र बाँकी छन्, युवा धेरै विदेशमा छन् । काठमाडौं गएकाहरू पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन,” उनले भने ।
युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार, गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरू छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समूह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरूमा सामूहिक देउसी खेल्ने क्रम बढेको छ ।
गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश बिकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ ।
“अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक ९० हजारसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले १० हजारको व्यापार भयो,” सल्लेरीका व्यापारी निरकुमार नेपालीले बताए ।
“आर्थिक संकटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको पाँच/छ वर्ष भयो, तर यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन,” उनले भने, “तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो । तर किन्ने मान्छे नै आएनन् ।”
किराना होस् वा अन्य पसलमा ग्राहकहरूको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ ।
“कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो । तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडबाडको उमङ्ग देखिँदैन,” बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने ।
विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर, पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे । यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर, देउसीभैलो खेल्नेहरू भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ ।
पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरू तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । तर, जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरू खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए ।
उनले भने, “अघिल्लो वर्ष काठमाडौंबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौं फर्काउनु परेको थियो । यसपालि त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौं मै थन्किएर बसेका छन् ।”
लोप हुँदै मौलिकता
तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर, पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर, पछिल्ला वर्षहरूमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताए ।
हरेक चाडपर्वको आफ्नै महत्त्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर, पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ ।
आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका–७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरू तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर, आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेल बताउँछिछन् ।
“एक त गाउँघरमा युवा छैनन्, भएकाहरू पनि क्यासेट बजार नाच्छन् गाउँछन् । मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो,” कट्टेलले भनिन् ।
मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ । रासस
सम्बन्धित खबर
दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला
झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो