पोखरा। इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गरेका हुन्।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने गरी लेखनाथमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजना मार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ ।
नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवर्द्धनमा लागिरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बताए। विभिन्न अवधिका तालिमका कक्षाहरू सञ्चालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको उनले बताए। वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाइ विलम्ब नगरी गर्ने गरिएको बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेको उनले बताए।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए। सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गर्दै यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाल लगायतले बोलेका थिए । कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु