मगर भाषा प्रशिक्षणको समापन

मगर भाषा प्रशिक्षणको समापन

pho

पोखरा । नेपाल मगर संघ, माटेपानी इकाई समितिसँगको सहकार्यमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सञ्चालित एक महिने मगर भाषा प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गरिएको छ ।

मगर भाषा प्रशिक्षणको समापन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले मगर जाति नेपालकै तेस्रो ठूलो जनसंख्या भएको समुदाय भएपनि मातृभाषा वक्ता कम हुनु चिन्ताजनक भएको बताए। हरेक मातृभाषाको आफ्नो ठाउँमा महत्व रहेको भन्दै कुलपति खड्काले मगर जातिले आफ्नो मातृभाषा बोल्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रज्ञा–प्रतिष्ठानले हरेक जातिको भाषा, संस्कृतिको संरक्षणमा विभिन्न काम गरेको जानकारी दिँदै उनले मगर भाषाको संरक्षणमा मगर समुदाय सबैभन्दा बढी जागरुक हुनुपर्ने बताए।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेलले मगर भाषा सिक्न मगर समुदायको उत्सुकता देखेर आफू निकै प्रभावित भएको बताउँदै आफ्नो मातृभाषा सिक्न माटेपानीका मगर समुदाय लालायित भएको देख्दा साँच्चै खुशी लागेको उल्लेख गरे। नेपाल मगर संघ, कास्कीका सहकोषाध्यक्ष डिलबहादुर श्रीसमगरले एक महिनाको मगर भाषा कक्षामा आफू पनि प्रशिक्षार्थीका रुपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै एक महिनाको समय थोरै भएपनि धेरै हदसम्म मातृभाषामा सामान्य बोलचाल गर्न सक्ने भएको बताए। मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष यामबहादुर थापामगरले बोलीचाली र व्यवहारमा अभ्यास नगरेसम्म भाषा सिक्न कठिन हुने जनाउँदै सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरले मगर भाषा सिकाउने अभियानलाई हरेक टोल र इकाईमा लैजान आवश्यक रहेकोमा जोड दिँदै एक महिनाको अवधिमा आफूले पनि प्रशिक्षार्थीका रुपमा धेरै कुरा सिक्न पाएको भनाइ राखे। नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी अध्यक्ष तुलसी थापामगरले आफूलाई मगर भाषा प्रशिक्षण निकै प्रभावकारी लागेको भन्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल मगर संघ, माटेपानी इकाई समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगरले मगर भाषा कक्षा सञ्चालनमा सहयोग गरेको भन्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिए। मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले प्रशिक्षार्थीहरूको लगनशीलता र सक्रियताले आफू निकै प्रभावित भएको बताए ।

कार्यक्रममा नेपाल मगर महिला संघ, माटेपानी इकाई समितिकी पूर्व अध्यक्ष एवं सल्लाहकार देउरुपा श्रीसमगर, प्रशिक्षार्थीहरूको तर्फबाट सीतादेवी पुनमगर र क्या. दामप्रसाद दर्लामीमगरले आ–आफ्नो अनुभव र भनाइ राखेका थिए। सो अवसरमा मगर भाषा प्रशिक्षणका क्रममा लिइएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः देउरुपा श्रीसमगर, तुलसी थापामगर, मुन्नु थापामगर र नन्दकुमारी आलेमगरलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । सो नगद पुरस्कारको लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्राज्ञ कृष्णप्रसाद पौडेलले गरेका थिए।

नेपाल मगर संघ, माटेपानी इकाई समितिका अध्यक्ष सुबेदार नारायणसिंह मास्की रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मुन्नु थापामगरले गरेका थिए भने उपाध्यक्ष ई. बमबहादुर श्रीसमगरले पनि बोलेका थिए। कार्यक्रममा प्रशिक्षार्थीहरूले मगर भाषामा झ्याउरे गीत समेत प्रस्तुत गरेको थिए भने कौराहा नाच समेत प्रस्तुत गरेका थिए । सो मगर भाषा प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो भने मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले एक महिनासम्म सहजीकरण गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ