काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन्।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन्।
उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन्।
डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन्।
डंगोलले योङ ग्लोबल लिडरमा छनोट भएकामा आफूलाई गर्व लागेको बताइन्।
‘संसारभरको यो मञ्चमा समग्र नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको छ,’ उनले भनिन्, ‘परिवर्तनका संवाहक भनेका युवा हुन्। म स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर सकारात्मक सन्देश दिने यो मञ्चमा छनोट हुँदा समग्र युवाको प्रतिनिधित्व भएको महसुस गरेकी छु।’
उनले अगाडि भनिन्, ‘यो छनोटले मलाई थप जिम्मेवारीबोध महसुस गराएको छ। जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्न प्रोत्साहन मिलेको छ।’
‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि अभियन्ताको परिचय पनि बनाएकी थिइन्। उनीसहितको टिमले स्थानीय रञ्जना लिपि संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएको थियो। काठमाडौं उपत्यका हुँदै विदेशसम्म ‘क्यालिजात्रा’ को पहुँच विस्तार गरेको थियो।
डंगोललाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपमेयर समेतको स्थानमा पुग्न सफल भएको भन्दै योङ ग्लोबल लिडरमा छानिएको हो।
उनलाई ‘सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र सहरी नवप्रवर्तनमा समर्पित एक ऊर्जावान नेता भएको तथा समावेशी शासन प्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त भएकाले छनोट गरिएको’ उल्लेख छ।
सम्बन्धित खबर
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिँदै
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य
सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल (मन्तव्यको पूर्णपाठ)
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य