काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो

आन्दोलन

काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो

हिजो आन्दोलनमा आएका शिक्षकले शिक्षकलाई नै कुटेका थिए

teacher-jhadap

काठमाडौं । नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच  झडप भएको छ ।

प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो

अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । झडपमा केही शिक्षक घाइते पनि भएको बताए ।

आकस्मिक बैठक आह्वान

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।

आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।

आन्दोलनमा आएका शिक्षकले शिक्षकलाई नै कुटे

हिजो शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको थियो ।

शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्। काठमाडौँ प्रहरीका अनुसार उनी पनि आन्दोलनमा सहभागी भएका शिक्षक हुन्।

काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीले छुटाएर लगेको सार्वजनिक भिडिओमा देखिएको छ। आपसी विवादमा घटना भएको सुनिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ