रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?

राजनीति

रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?

shyam ghimire

काठमाडौँ — कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाले नैतिकताको पाठ सिकाउनु सुहाउँदो नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाएका हुन् ।

अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैंभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न उनले आग्रह गरे । ‘अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ,’ घिमिरले भने ।

रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा समेत बाहिर नआएको उनको भनाइ छ । उनले अगाडि भने, ‘संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको सिकाउन कति मिल्ने हो ? कति जायज हो ?’

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ