वीरगन्ज । सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ।
वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै जिल्ला सकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। जसमा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। यस्तै छविलाल जोशीविरुद्ध भने ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत वैशाख १४ गते अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा भने प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ , काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो।
वैशाख १४ गते प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर करिब डेढ महिनापछि सरकारी वकिलको कार्यालयले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरेको हो।
वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ बचतकर्ताहरूले आफूहरूको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए।
सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए। तर त्यस बेला सहकारी ठगी मात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसँगै शुद्धीकरण र संगठित अपराधमा पनि छानबिन गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्दामा अनुसन्धान गरेको थियो।
लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो। मंसिर २५ गते उनलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर उनीसँग ४ घण्टा बयान लिइएको थियो। त्यसै दिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो।
लामिछाने हाल बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२ औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा