झापा : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन्।
जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए। केपी ओली बिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै उनले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे।
‘एमाले बिनाको देश र केपी ओली बिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ उनले भने।
एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने उनको भनाइ छ। ‘माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन। हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन,’ उनले भने।
प्रधानमन्त्री ओलीले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङ मार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए।
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो
अहिले नेपालको अन्तर्राष्ट्रिय छबि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसीएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाए।
भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाए
ओलीले भ्रष्ट तत्त्वहरूले हस्ताक्षर अभियान चलाएको आरोप लगाए । उनले सहकारीका करोडौँ झ्वाम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गरेको बताए।
अदालतले थुन्ने आदेश दिए पनि एमालेमाथि प्रहार भइरहेको बताए। उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए। भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट तत्त्वहरू हस्ताक्षर अभियान चलाएर हिँडेका छन्। सहकारीको करोडौँ झ्वाम पार्ने‚ गरिब जनताका पैसा खाने अनि अन्याय पर्यो भन्ने! अदालतले लगेर थुनेको छ‚ हामीले अन्याय गरिदिएको हो? मुद्दा लड्न जाऊ न अदालतविरुद्ध पुनरावेदन गर्न पाइन्छ। जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने? मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने। यस्तो पनि हुन्छ? यो भ्रष्टका चर्चा हुन्।’
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्टहरूले अफवाह फैलाइरहेको बताए।
एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण
ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। ‘हामी काम गर्नका लागि सरकारमा गएका हौं,’ ओलीले भने, ‘एक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।’
उनले आफू नेतृत्वको सरकारले युगान्तकारी काम गरेको दाबी गर्दै तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे । ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप पनि लगाए ।
‘एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,’ उनले भने । उनले एमालेबिनाको नेपाल सम्भव नरहेको जिकिर गर्दै पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने उद्घोष गरे ।
शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास योजनाहरूको उद्घाटन गरेपछि आइतबारै काठमाडौं फर्किने कार्यक्रम छ ।
मन्त्री गुप्तासँग कुराकानी गरेपछि ‘एक्सन’ लिने
मन्त्री गुप्ताले ‘घुस डिल’ गरेकोसम्बन्धी अडिओ सार्वजनिक भए पनि प्रधानमन्त्री ओलीले यसबारे अहिलेसम्म बोलेका छैनन्।
‘प्रधानमन्त्रीज्यू आजै काठमाडौं फर्कनुहुनेछ, त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर कुराकानी हुन्छ,’ सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीले एक्सन लिनुहुन्छ।’
प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताको जबाफ चित्तबुझ्दो नभए राजीनामा माग्ने, नदिए बर्खास्त गर्ने तयारी गरेको सचिवालय स्रोतको दाबी छ। गुप्ता नेकपा (एमाले) का केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद पनि हुन्।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’