कानुनले २० वर्ष मुनिको विवाहलाई मान्यता नदिए पनि स्याङ्जामा भने ‘बालविवाह’ अझै पनि व्यापक देखिएको छ । यसैका प्रत्यक्ष प्रमाणस्वरूप, आर्थिक वर्ष २०८१/८२ मा मात्र स्याङ्जाका २ हजार ५५९ महिलाले गर्भ परीक्षण गराउँदा तीमध्ये २१० जना अर्थात् ८.२ प्रतिशत महिलाहरू २० वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार, सुरक्षित प्रसूति सेवा लिने ८८२ महिलामध्ये १०९ जना (१२.३५ प्रतिशत) २० वर्ष नपुगेका छन् । त्यस्तै ९२४ जनाले सुरक्षित गर्भपतन गराउँदा ४३ जना अर्थात् ४.६५ प्रतिशत महिला पनि बालविवाहकै सूचीमा परेका छन् ।
चापागाईंका अनुसार, १२ हप्तामुनिको मेडिकल गर्भपतन गराउने संख्या ८४१ रहेको छ भने सर्जिकल विधिबाट ८१ र १२ हप्तामाथिको गर्भपतन दुई जनाले गराएका थिए ।
सुरक्षित प्रसूति सेवा लिनेमा ६९५ जना दक्ष प्रसूतिकर्मीबाट, १६८ जना दक्ष स्वास्थ्यकर्मीबाट, १३ जना अन्य स्वास्थ्यकर्मीबाट तथा ६ जनाले घरमै सुत्केरी सेवा लिएका थिए ।
अझ चिन्ताजनक पक्ष त के देखिएको छ भने, ७५३ जना महिलाले आफूले कहाँ प्रसूति वा गर्भपतन सेवा लिएको भन्ने जानकारी विवरणमा उल्लेख गरेका छैनन् । चापागाईंका अनुसार, सेवा सुविधा खोज्दै पाल्पा, गुल्मी वा पोखरा गए पनि तथ्यांक नफर्किएकाले यसमा विवरण नपर्न सक्छ ।
चापागाईंले भने, “एम्बुलेन्स सेवा निःशुल्क हुँदा धेरैजसो केस बाहिरका सुविधा सम्पन्न अस्पतालहरूमा रेफर भएका देखिन्छन् । गर्भपतन गर्नेहरूको हकमा पनि गोपनीयताको कारण नचिनेको स्थान रोज्ने प्रवृत्ति देखिएको हुन सक्छ ।”
हाल स्याङ्जामा सुरक्षित प्रसूति तथा गर्भपतन सेवा जिल्ला अस्पताल, पालिका तहका ६ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, दर्जनौं स्वास्थ्य चौकीसहित १२१ वटा संस्थाबाट दिइँदै आइएको छ । तर, बालविवाहका कारण किशोरी अवस्थामै गर्भ धारण र प्रसूति हुने क्रम रोक्न शिक्षा, चेतना र सामाजिक हस्तक्षेप आवश्यक देखिएको छ ।
२० वर्ष नपुग्दै आमा बन्ने स्याङ्जाका किशोरीहरूको संख्या सरकारी तथ्यांकमै देखिनु गम्भीर चुनौती हो । कानुनी प्रावधानलाई व्यवहारमा उतार्न अब जनस्तरमै सचेतना र निगरानी आवश्यक छ । समाजले बालविवाहलाई संस्कार नभइ ‘खतराको संकेत’ रूपमा बुझ्न थाले मात्र वास्तविक सुधारको थालनी हुने देखिन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ