काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते भएको सार्वजनिक र नीजि सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयले भनेको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृह मन्त्रालयको यो कार्यले सरकार नै शान्ति सुरक्षा कायम गर्न इच्छुक नदेखिएको प्रस्ट भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले गृह मन्त्रालयले २४ गतेको तोडफोडमा संलग्नलाई कारबाही नगर्न दिएको दबाबबारे पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष बैठकमा निकालिएको जानकारी दिए ।
‘गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा अराजकता मच्चाइयो । निजी र सार्वजनिक सम्पत्ति ध्वस्त पारियो । त्यो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा नेताहरूको समान दृष्टिकोण आएको छ,’ बैठकपछि प्रवक्ता डा.महतले सञ्चारकर्मीहरूसँग भने– ‘गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएको छ । त्यसमा पार्टीको गम्भीर असहमति छ ।’
कांग्रेसले कसरी घटना हुन गयो ? को को दोषी छन् ? छानबिन गरी कारबाही गर्न माग गरेको छ । सरकारको यो गतिविधिले निर्वाचन हुन नसक्ने कांग्रेसले बताएको छ । सरकार निर्वाचनप्रति गम्भीर नभएको देखिएको प्रवक्ता डा.महतले बताए ।
सबै दलहरूबिच समान धारणा बनाउन कांग्रेसले पहल गर्ने
कांग्रेसका अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।
नेताहरूले नियमित महाधिवेशनमा जोड दिँदै त्यसका लागि विधि प्रक्रिया पूरा गरेर मंसिरभित्रै महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा दलका नेताहरूमाथि आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबै नेताहरूको समान धारणा रहेको उनले बताए ।
उनले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने जिकिर गरे ।
प्रवक्ता महतले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गरे ।
उनले विश्वसनीय निर्वाचनको आधार नदेखिएपनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको बताए ।
नेताहरूले धारणा राख्न बाँकी रहेकाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार पनि बस्ने प्रवक्ता महतले बताए । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।
सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट