काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकटका अनुसारआगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ ।
जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् ।
श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
टासीको नाममा भने प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरिरहेकी छिन् ।
श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् । काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा, फागु पूर्णिमा ब्यवस्थित गर्न उनले संयोजनकारी भूमिका खेलेका छन् । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज उठाउँदै आएका थिए । गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समितिको संयोजकका रूपमा पनि उनी सक्रिय थिए।
त्यस्तै, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । गुप्ताले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाए, कपडा बैंक स्थापना गरे । अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उनी बिरामीका लागि रगत खोज्ने सारथि समेत हुन् । उनी जेनजी आन्दोलनका अगुवामध्ये हुन् ।
रामजी रामलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइँदैछ । रामजी रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन् । एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो । हैरानी र सास्ती खेप्दै डाक्टर बनेका रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी उनी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गर्छिन् । आफू जन्मेको गाउँमा परेको दु:खलाई हेर्दै उनले काठमाडौंमा गैर सरकारी संस्थाको सहयोगमा पढ्दैगर्दा यो मुद्दामा बोल्न थालेकी थिइन् । टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन्।
त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्नेगरी तयारी भएको छ ।
गत २३ र २४ भदौमा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की छिन् । उनी २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । त्यसपछि उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन् । अहिले उनीसहित ८ सदस्यीय मन्त्रिपरिषद् छ ।
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा