स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचार

स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सूचना प्रविधिका सामान खरिदमा हिनामिना

akhtiyar_aayog-pic (1)

सूचना प्रविधि कार्यक्रमका लागि आएको बजेट आफ्नै स्वार्थमा प्रयोग गरेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका -४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित तीन जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल, लेखापाल छविलाल गाहा, र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा गल्याङ नगरपालिका –४ स्थित शिशु कल्याण माविमा आईसीटी (सूचना प्रविधि) कार्यक्रमका लागि आएको बजेट ती तीनजनाले आपसी मिलोमतोमा हिनामिना गरेको प्रमाण भेटिएको छ ।

विद्यालयले ७ थान कम्प्युटर, १ प्रोजेक्टर, १ ल्यापटप र १ प्रिन्टर खरिद गरेको देखाए पनि दुई कम्प्युटर, एक प्रोजेक्टर र एक प्रिन्टर विद्यालयमा नल्याई नक्कली प्रतिवेदन तयार गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार दुई कम्प्युटरको १ लाख २३ हजार रुपैयाँ, प्रोजेक्टरको ५८ हजार रुपैयाँ, र प्रिन्टरसहित गरी करिब २ लाख १७ हजार रुपैयाँको हिनामिना भएको देखिएको छ ।

यसबाहेक विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरी फिर्ता नगरेको समेत अनुसन्धानले देखाएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार ती तीनजनाले मिलेर कुल ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमितता गरेका छन् । सो रकम बिगो कायम गरी कैद सजाय र बिगो असुलउपरको माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय तहमा विद्यालय सुधारका नाममा आउने बजेट दुरुपयोगको घटनाले फेरि एकपटक शिक्षा क्षेत्रमा बढ्दो भ्रष्टाचार र अनियमिततामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ