काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई हानी पुगेको आरोपमा मुद्दा चलिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी प्रदीप अधिकारी र मुरारी भण्डारीलाई विशेष अदालतले धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको छ।
विशेष अदालतको इजलास नम्बर १ (अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ) ले मंगलबार जारी गरेको आदेशमा दुवै प्रतिवादीको बयान तथा मिसिल कागजात अध्ययनपछि अभियोग दाबीमा उठाइएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख छ।
मुद्दा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ बमोजिम विशेष अदालतले यो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट सरकारी वकिलहरूले प्रतिवादीहरूले पोखरा विमानस्थलको लागत स्वीकृत अनुमानभन्दा अस्वाभाविक रूपमा ७.४३ मिलियन अमेरिकी डलर, अर्थात् करिब ८.३६ अर्ब रुपैयाँले बढाई मिलेमतोमा भुक्तानी गरेको दाबी गरेका थिए।
आयोगले दुवै प्रतिवादी सामूहिक रूपमा जिम्मेवार हुने भन्दै थुनामा राखेर पुर्पक्ष गर्नु पर्ने माग गरेको थियो। तर प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले परियोजना एफआईडीआईसी निर्देशिकाअनुसार दातृराष्ट्र चीनको सहुलियतपूर्ण ऋणमा ईपीसी मोडेलमार्फत् सञ्चालित भएकाले सार्वजनिक खरिद ऐन लागु नहुने तर्क राखे।
उनीहरूले दाबी गरिएको लागत वृद्धि निर्णयमा प्रतिवादीहरूको निर्णायक भूमिका नरहेको र परियोजना तोकिएको समयमा सम्पन्न भएकाले साधारण तारेख पर्याप्त हुने दाबी गरे।
अदालतले परियोजना बहुवर्षीय भएको, निर्णय प्रक्रियामा विभिन्न तह र अधिकारी संलग्न रहेको तथा प्रतिवादीहरु परियोजनामा आ–आफ्नो भूमिकामा केही समय मात्र जिम्मेवारीमा रहेको उल्लेख गर्दै यस चरणमा थुनामा राख्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको छ।
यस अनुसार अदालतले प्रतिवादी प्रदीप अधिकारीलाई पाँच लाख रुपैयाँ र मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटी वा सोही बराबरको बैंक जमानत बुझाई तारेखमा पुर्पक्ष गर्ने आदेश दिएको हो। माग गरिएको धरौटी नबुझाएमा थुनुवा पुर्जी जारी गरी कारागार पठाउने व्यवस्था आदेशमा उल्लेख छ।
यद्यपि भक्तपुरको नलिञ्चोकमा निर्मित हेलिपोर्ट प्रकरणमा जेल परिसकेकाले अधिकारी तत्कालै रिहा हुन पाउने छैनन् ।
जेलमै बस्नु पर्ने भएपछि अधिकारीले बुझाएनन् ५ लाख धरौटी
८ अर्ब ३६ करोड बढीको भ्रष्टार मुद्दाका अभियुक्त अधिकारीले भने अदालतले माग गरेको ५ लाख धरौटी पनि बुझाएनन्।
धरौटी बुझाए पनि जेलमै बस्नु पर्ने भएपछि अधिकारीले इन्कार गरेका हुन्। उनीसँगै अख्तियारले पक्राउ गरेका क्यानकै पूर्व निर्देशक मुरारी भण्डारी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अधिकारीलाई भने आइतबार विशेष अदालतले नै अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अब उक्त आदेश माथिल्लो अदालतबाट बदर नभए वा फैसला भएर पनि कैद सजाय नतोकिए मात्रै अधिकारी रिहा हुनेछन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण