काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलसमेतका प्रतिवादीहरू विरुद्ध पुनरावेदन गरेको हो ।
अख्तियारका अनुसार काठमाडौँ उपत्यकामा पानी ल्याउन हचुवाको भरमा बिना विश्लेषण ’माइलस्टोन’ तय गरेको आरोप उनीहरूमाथि छ । निर्माण व्यवसायीको क्षमता र नगद प्रवाह कमजोर भई आयोजनाको प्रगति सुस्त भएको थाहा हुँदाहुँदै सम्झौता र प्रचलित कानुन विपरीत निर्माण व्यवसायीलाई आर्थिक लाभ हुने गरी काम गरेको दाबी अख्तियारको छ ।
यस्तै, कानुनले तोकेभन्दा बढी ठेकेदारलाई दुई किस्तामा अतिरिक्त मोबिलाइजेसन पेस्की दिएको, सम्झौता बमोजिम भुक्तानीका लागि पेश गरेको बिलमा ’प्रोभिजनल पेमेन्ट’ बापतको रकम असुली नगरेको र प्रत्येक आईपीसीमा ’रेन्टल चार्ज’ मूल्याङ्कन गर्दै बिलबाट कट्टी गरी असुल उपर गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाइएको छ ।
यी कार्यहरूबाट सरकारी सम्पत्ति हानी नोक्सानी भएको र निर्माण व्यवसायीलाई लाभ पुर्याई भ्रष्टाचार गरेको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको थियो ।
यसअघि आयोगले दायर गरेको मुद्दामा विशेष अदालत, काठमाडौँले २०८१ भदौ १६ गते फैसला गर्दै प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो ।
विशेष अदालतको उक्त फैसलामा सरकारी सम्पत्ति हानी नोक्सानीमा संलग्नहरूलाई उन्मुक्ति मिलेको जिकिर गर्दै आयोगले सो फैसला त्रुटिपूर्ण रहेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमामा उल्लेख छ ।
आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको मुद्दामा १७ जना (संस्थासहित) लाई प्रतिवादी बनाइएको छ–
१. डा. सञ्जय शर्मा
२. भीमप्रसाद उपाध्याय
३. गजेन्द्रकुमार ठाकुर
४. मुकुन्दप्रसाद पौडेल
५. रुद्रसिंह तामाङ
६. चन्द्रबहादुर थापा
७. घनश्याम भट्टराई
८. रामचन्द्र देवकोटा
९. सूर्यराज कँडेल
१०. मणिभद्र न्यौपाने
११. रामचन्द्र न्यौपाने
१२. वेगनाथ पौडेल
१३. केदारप्रसाद अर्याल
१४. भोजविक्रम थापा
१५. शिवकुमार शर्मा
१६. Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. JV (परामर्शदाता कम्पनी) १७. CMC di Ravenna (निर्माण व्यवसायी कम्पनी)
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु