काठमाडौँ — एमालेको ११ औं महाधिवेशअन्तर्गत आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको कार्यतालिका छ ।
महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।
२०७८ सालमा सौराहामा भएको दसौँ महाधिवेशनमा पनि विद्युतीय मेसिनबाट मतदानको भएको थियो ।
एमाले नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा सोमबार ओली र पोखरेलसहित नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
३०१ पदका लागि ६०३ उम्मेदवारी, ओली र पोखरेल प्यानलमा को-को ?
दुई पटक पार्टीको नेतृत्व गरिसकेका ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले आफ्नो टिमको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन् । पोखरेलले निरन्तरता पाएपछि उपमहासचिव प्रदीप ज्ञवालीले असन्तुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवार हुन अस्वीकार गरेका छन् । उनले केन्द्रीय कमिटी सदस्यका लागि मात्र उम्मेदवारी दिएका छन् । ओली टिमको उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ छन् । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । महासचिवको दाबी गरेका गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।
ओली प्यानलतर्फ उपमहासचिवका उम्मेदवारमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल छन् । रिमाल यसअघि पनि उपमहासचिव थिए भने महासेठ र भट्ट सचिव थिए । ओलीले प्रारम्भिक सूचीमा भट्टलाई सचिवको उम्मेदवार बनाएका थिए । तर उनले अस्वीकार गरेपछि उपमहासचिवमा उठाउने तयारी गरिएका भानभुक्त ढकाललाई सचिवको उम्मेदवार बनाई भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो ।
ओली टिमका सचिव उम्मेदवारमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई छन् । पद्मा अर्याल र छविलाल विश्वकर्मा यसअघि पनि सचिव थिए । सचिवका उम्मेदवार हिक्मत कार्की कोशी, यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री हुन् । शेरधन राई कोशी र खगराज अधिकारी गण्डकीका पूर्वमुख्यमन्त्री हुन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा टंक कार्की र भीम आचार्यले पनि उम्मेदवार दिएका छन् ।
ओलीनिकट स्थायी कमिटी सदस्य अग्नि खरेलले प्यानलमा नपरेपछि सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले ओली पक्षबाट सचिवमा दाबी गरेका थिए । ‘म प्यानलमा नपरे पनि सचिव पदमा उम्मेदवारी दिएको छु,’ उनले भने, ‘मलाई साथीहरूको साथ छ ।’ खरेल ओली प्रधानमन्त्री हुँदा विज्ञ सल्लाहकार थिए ।
सचिवमा दाबी गरेका लालबाबु पण्डित र राजेन्द्र गौतम पनि ओली प्यानलमा परेनन् । गौतमले उपमहासचिवा उम्मेदवारी दिएपनि फिर्ता लिएका छन् भने पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गौतम प्रचार विभाग प्रमुख र पण्डित सम्पर्क विभाग प्रमुख थिए । एमालेका पूर्वउपाध्यक्ष एवं सभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि ओली टिममा अटाएनन् । उनले खुलातर्फ उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी रामकुमारी झाँक्रीले संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पनि प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पोखरेलको टिमबाट उपाध्यक्ष उम्मेदवारमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल छन् । एक उपाध्यक्षमा उम्मेदवार उठाइएको छैन । विष्ट यसअघि सचिव थिए । दानमा केन्द्रीय कार्यालय बनाउने निर्णयको विरोध गरेपछि बिन्दा पाण्डे निलम्बनमा परेकी थिइन् । महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यसअघि उनी उपाध्यक्ष थिए ।
सचिव रहेका योगेश भट्टराईले पोखरेल पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएका छन् । अरू दुई उपमहासचिवमा आनन्द पोखरेल र वैजुनाथ चौधरी छन् । पोखरेल पक्षबाट सचिव पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनुअघिसम्म श्रेष्ठ ओली खेमामा थिए । २०७८ मा चितवनमा भएको १० औं महाधिवेशनमा बाँस्कोटा, श्रेष्ठ र थापा पनि ओलीनिकट थिए । २०७४ मा ओली प्रधानमन्त्री हुँदा बाँस्कोटा सञ्चारमन्त्री थिए ।
नेता पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत चलाउन आफू अध्यक्षको उम्मेदवार बनेको बताए । ‘पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता छ, त्यसैका लागि मेरो उम्मेदवारी हो,’ उनले भने । आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुने उनको भनाइ थियो ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले राजनीतिक संकट सामना गर्न अध्यक्ष ओलीको बलियो टिम बनाउनुपर्ने भएकाले आफूले उम्मेदवार दिएको बताए । ‘चुनौतीलाई सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ भन्ने आधारमा हामी अघि बढ्न खोजिरहेका छौं,’ उनले भने । महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टी जीवनमा लोकतन्त्रको पुनर्बहाली, विधिको स्थापना र संगठनको पुनःसंरचना गर्नु आफ्नो उद्देश्य भएको बताए । ‘सशक्त पार्टी बनाउन, विधि पद्धति बसालेर पार्टी जीवनमा लोकतन्त्र बलियो बनाउन मेरो उम्मेदवारी हो’ उनले भने ।
उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताए । ‘पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘नेतृत्वप्रति धेरै प्रश्न उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ एमालेलाई अगाडि बढाउनुपर्छ ।’
३०१ पदका लागि ६०३ उम्मेदवारी
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
मुस्लिम महिला कोटामा खाजिदा खातुन सिद्धिकी र प्रवास दक्षिण एसियामा हरिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् । अनुशासन आयोगमा अध्यक्ष प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेश घिमिरे निर्विरोध चयन भएका छन् । पिछडिएको क्षेत्र महिला कोटाबाट बदमी कुमारी बुढा पनि निर्विरोध चयन भएकी छन् । यस्तै, लेखा आयोगको अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका छन् । केन्द्रीय सदस्य ४० वर्ष मुनिका तर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन् ।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि केन्द्रीय कमिटीमा ५ प्रतिशत कोटा निर्धारण गरिएको छ, त्यो भनेको १५ जना हो । केन्द्रीय कमिटीमा पदाधिकारी १९ जनामध्ये अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट ९ जनाका दरले (७२) जना रहनेछन् ।
यस्तै सबै प्रदेशबाट खुला ५, महिला ३ र युवा १ जना पनि हुनेछन् । खुला कोटाको १ सय २५ मा केन्द्रीय सदस्यमध्ये खुला ७१, महिला ५२ र युवा २ छन् । जनजाति/आदिवासी २५ मध्ये खुला १५, महिला ८ र युवा २ चयन हुनेछन् । त्यस्तै, मधेशी कोटामा १९ मध्ये खुला ११, महिला ६ र युवा २ नेता चयन हुनेछन् । प्रवास २ मध्ये भारतबाट १ र अन्य देशबाट १, श्रमिक ३ मध्ये खुला २ र महिला १, अपांगता भएका व्यक्ति १, दलित १२ मध्ये खुला ७, महिला ४ र युवा १ केन्द्रीय सदस्य रहनेछन् ।
थारू ‘क्लस्टर’ बाट ८ मध्ये खुला ५ र महिला ३, मुस्लिम समुदायबाट ५ मध्ये खुला ४ र महिला १ तथा पिछडिएको क्षेत्रबाट २ मध्ये खुला १ र महिला १ रहने गरी ‘क्लस्टर’ तय भएको छ । केन्द्रीय कमिटी ३ सय १ सदस्यीयको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी हुनेछ । त्यसैले अब १९ केन्द्रीय पदाधिकारी, ३३ स्थायी कमिटी र ९९ को पोलिटब्युरो हुनेछ ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति