प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्ने तयारी गरेका मन्त्रीहरूलाई तत्काल पद छोड्न भनेकी छिन् ।
नियमित मन्त्रिपरिषद्को बैठकमा बोल्दै कार्कीले चुनाव लड्न चाहनेहरूले मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले व्यक्तिगत रूपमा नामै तोकेर नभने पनि मन्त्रिपरिषद् बैठकमा सामूहिक आग्रह गरेकी हुन् । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब यता (मन्त्रीमा) बसिरहन उचित हुँदैन । चुनाव लड्न चाहनेले त्यसको तयारीमा जाँदा हुन्छ । मार्गप्रशस्त गर्नुस् ।’
हाल सरकारमा कुलमान घिसिङ रास्वपाका उपसभापति बनिसकेका छन् । उनी रास्वपा प्रवेश गर्नुअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए । तर, मन्त्री हुनुपूर्व उनी कुनै राजनीतिक दलमा आबद्ध थिएनन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोकप्रिय काम गरेर जनतामाझ चर्चित बनेका थिए । उनको त्यही प्रसिद्धि देखेर कार्कीले भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । तर, घिसिङ राजनीतिमा सक्रिय भएसँगै सरकारमा बस्न नैतिक रूपमा गाह्रो हुने तर्कसहित सरकार छोड्न चौतर्फी दबाब बढे पनि उनले राजीनामा गरेका छैनन् ।
त्यस्तै, सञ्चारमन्त्री जगदीश खरेल पनि मन्त्री बन्नुअघि लोकप्रिय सञ्चारकर्मी थिए । नागरिक सरकारमा स्वतन्त्र व्यक्तिको हैसियतमा सरकारमा गएका उनी एकाएक राजनीतिक दलमार्फत राजनीतिमा होमिने तयारी गरेका छन् । ललितपुर– २ बाट निर्वाचनमा उम्मेदवार बन्ने पक्कापक्की भएसँगै उनीमाथि समेत सरकार छाड्ने दबाब छ ।
त्यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता घिसिङसँगै रास्वपा प्रवेश गरेका छन् । उनीसमेत सक्रिय राजनीतिमा होमिने भएपछि ‘नागरिक सरकारमा दलका मन्त्री’ भनेर आलोचना बढेको छ । यही आलोचनाका बीच प्रधानमन्त्री कार्कीले तीन जना मन्त्रीलाई लक्षित गर्दै सोमबारको मन्त्रिपरिषद्को बैठकमा सरकार छोड्न दबाब दिएकी हुन् ।
कार्कीले प्रधानमन्त्री नियुक्तीलगत्तै दिएको अन्तर्वार्तामा आफूसँग सहभागी भएका मन्त्रीहरू कुनै पनि दलका नहुने स्पष्ट पारिसकेकी थिइन् । उक्त सार्वजनिक अभिव्यक्तिविरुद्ध मन्त्रीहरू नै गएपछि कार्कीलाई नैतिक संकट निम्तिएको छ । हाल १५ सदस्यीय मन्त्रिपरिषद् छ ।
सम्बन्धित खबर
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य