काठमाडौँ — निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा विभिन्न समूह, व्यक्ति वा स्वार्थ समूहबाट योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भएकाले त्यसतर्फ सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तर्क्रियामा उनले निर्वाचनको समयमा सूचनाहरू बिनापुष्टि मिडियामार्फत सम्प्रेषण भएमा त्यसले निर्वाचन प्रक्रिया, मतदाता विश्वास र समग्र लोकतान्त्रिक प्रणालीमै गम्भीर समस्या उत्पन्न गराउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
उनले भने, “समाजमा मिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । विशेषगरी निर्वाचनका समयमा कसैले गलत सूचना दिएर मिडियामा पठाएको खण्डमा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले पत्रकार र सञ्चारमाध्यमले अत्यन्तै चनाखो र सजग भएर काम गर्न आवश्यक छ ।” निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र प्रमाणमा आधारित अनुसन्धानात्मक रिपोर्टिङ अपरिहार्य रहेको उनको भनाइ छ । मिडियाले हतारमा होइन, जिम्मेवार ढङ्गले समाचार प्रकाशन–प्रसारण गर्नुपर्ने उनले आग्रह गरे।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहका लागि महासङ्घ निरन्तर क्रियाशील रहेको बताइन् । पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी पत्रकार स्वयं अझ बढी जिम्मेवार हुनुपर्ने धारणा उनले राखिन्।
उनले भनिन्, “कतिपय सामाजिक सञ्जालमार्फत ‘डिसइन्फरमेसन’ आइरहेको देखिन्छ । ती भ्रामक सूचनालाई कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा महासङ्घ सक्रिय छ । जिम्मेवार पत्रकारितामार्फत निस्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन हामी सबै सफल हुनुपर्छ ।” नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले सञ्चारमाध्यममा गलत सूचना प्रवाह हुन नदिन काउन्सिलले निरन्तर अनुगमन गरिरहेको बताए। उनले भने, “मिडियामा गलत सूचना प्रवाह हुन नदिन काउन्सिलले नियमित अनुगमन गरिरहेको छ । विशेषगरी निर्वाचन रिपोर्टिङका क्रममा यस्ता गतिविधि नहोस् भनेर काउन्सिल थप चनाखो बनेको छ ।”
अन्तक्र्रिया कार्यक्रममा डिजिटल युगमा पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषय, पत्रकारको डिजिटल सुरक्षा, सूचना अखण्डताको महत्व तथा निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारमाध्यमको जिम्मेवारीबारे विभिन्न दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’सम्बन्धी प्रयोगात्मक हाते पुस्तिकाको समेत विमोचन गरिएको थियो । उक्त पुस्तिकाले पत्रकारहरूलाई डिजिटल जोखिम, भ्रामक सूचना पहिचान तथा जिम्मेवार निर्वाचन रिपोर्टिङमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
कास्की-२ का एमाले उम्मेदवार रश्मिले जन्मथलो भरतपोखरीको आशिर्वाद लिएर थाले निर्वाचन अभियान
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
कास्की अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने
जसपाले उम्मेदवार बनाएका व्यक्ति नै एमाले प्रवेश गरेपछि…
आजदेखि औपचारिक प्रचारप्रसार खुला, ठूला सभा पनि गर्न पाइने
आज दिनभरीमा मतपत्र छापिसक्ने
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु