दुर्गमलाई प्राथमिकता दिँदै माघ २८ देखि मतपत्र ढुवानी गरिँदै

राजनीति

दुर्गमलाई प्राथमिकता दिँदै माघ २८ देखि मतपत्र ढुवानी गरिँदै

सामानुपातिक तर्फको छपाइ सम्पन्न, प्रत्यक्षतर्फको ८३ लाख थान छपाइ गर्न बाँकी

matpatra

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।

निर्वाचन आयोगले जनकलाई यस पटकको निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताका लागि कुल मतपत्र ४ करोड ११ लाख थान छपाइ कार्यको जिम्मेवारी दिएको थियो। जनकका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जनकले सोमबारसम्म समानुपातिक तर्फका आवश्यक पर्ने २ करोड ८ लाख थान मतपत्र पूर्ण रूपमा छपाइ कार्य सम्पन्न गरी ढुवानीको तयारी गरिरहेको बताए।

‘समानुपातिकतर्फको छपाइ कार्य समपन्न भएको छ। अब माघ २८ गतेदेखि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर ढुवानीको कार्य सुरु गर्ने कार्यतलिका छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘जनक र निर्वाचन आयोगबिच समन्वय र सहकार्य गरी ढुवानीका लागि हेलिकप्टर र गाडी दुवै प्रयोग गरिने छ।’ उनले थपे, ‘प्रत्यक्ष निर्वाचन तर्फका लागि कुल २ करोड ३ लाखमध्ये १ करोड २५ लाख थान छपाइ कार्य सम्पन्न भएको छ। बाँकी रहेको ८३ लाख थान पनि एक साताभित्र सम्पन्न गर्ने जनकको तयारी छ।’

मतपत्र छपाइबाट जनकले २४ करोड रुपैयाँ बराबरको कारोबार गर्ने जनकका प्रबन्ध निर्देशक पौडेलले बताए। जनकले नेपाली सेनाको सुरक्षा घेरामा दैनिक १५ लाख थान मतपत्र छपाइ कार्य गरिरहेको बताउँदै उनले मतपत्र छपाइ कार्यका लागि जनकका ३ सय कर्मचारीले चार वटा छपाइ मेसिनमा १५० जना नेपाली सेनाको सुरक्षा घेरामा छपाइ कार्य गरिरहेको उनले बताए।

‘मतपत्र छपाइ निकै संवेदनशील कार्य हो। यस कारण छपाइ र ढुवानी कार्य निकै संवेदनशीलतापूर्वक जनकले गर्छ,’ प्रवबन्ध निर्देशक पौडेलले भने, ‘मतपत्र जिल्लाको मतदाताको संख्याको आधारमा प्याकेजिङ गरी पठाउने हो।’ उनले जोड दिए, ‘जिल्लाको सुरक्षाकर्मीको रोहवरमा मतदान केन्द्रका मतदान अधिकृतले मात्र उक्त मतपत्रको प्याकेज खोल्ने हो।’

फागुन मसान्तभित्र जनकले १ करोड ७० लाख थान विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पनि समानान्तर रूपमा पूरा गरिरहेको उनको दाबी छ। ‘विद्यालय तहको पाठ्यपुस्तक मध्ये १० प्रतिशत छपाइ कार्य मात्र बाँकी छ,’ उनले भने, ‘फागुन मसान्तभित्र पाठ्यपुस्तकको छपाइ कार्य सम्पन्न हुन्छ।’

यसका साथै जनक शिक्षाले पछिल्लो समय सरकारी काम पाउन थालेको छ। सरकारले समेत विश्वास गरेकै कारण जनक सक्षम बन्दै गएको उनको भनाइ छ। ‘गत साता प्रधानमन्त्री सुशीला कार्कीज्यु पनि जनकमा निरीक्षण गरी समयमै मतपत्र छपाइ कार्य सम्पन्न गरेकोमा धन्यवाद दिनु भयो,’ उनले भने, ‘एसइई, सिभिइभिटी, मेडिकल आयोगको प्रश्नपत्रलगायत सबै तहसम्मको प्रश्नपत्र छपाइ र त्यसको संवेदनशीलता कायम गर्दै आएको छ। हाल जनकले नेपाल टेलिकमको ५ करोड थान रिचार्ज कार्ड छपाइको समेत काम गरिरहेको छ।’ उनले थपे, ‘हाल मासिक ५० लाख थान रिचार्ज कार्ड छपाइ कार्य भइरहेको छ।’  नागरिकमा समाचार छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds