काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई प्रतिशोधको नभई बहसको थलो बनाउने बताएका छन्। उनले अब आफूहरूले संसदमा प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने बताए।
प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तारुढ दलका प्रतिनिधिका रूपमा बोल्दै उनले अघिल्लो संसदमा आफूहरू प्रतिशोध भोगेर आइपुगेको भन्दै उनले अब त्यस्तो अवस्था नआउने प्रतिक्रिया दिए।
लामिछानेले सरकारले बाटो बिराए सच्याउन सचेत गराइदिन प्रतिपक्षसँग आग्रह गरे। राम्रा कामलाई प्रशंसा र गलत भए आलोचना गर्न नछाड्न प्रतिपक्षी दलका सांसदसँग आग्रह गरे। ‘हामी काम गछौँ। तपाईँहरू निगरानी गर्नुहोला’, उनले भने।
आफूहरुलाई काम गर्नका लागि सय दिने ‘हनिमुन पिरियड’ को सुविधा नचाहिने बताए। लामिछानेले आफूहरु दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेको बताए ।
सांसद लामिछानेले विगतका सरकारहरु पारदर्शिता र जवाफदेहिताको कमजोरीले गर्दा इतिहास बदल्ने औजार बन्न नसकेको भन्दै आफूहरु इतिहासबाट सिक्न र परिणाम दिन आएको बताए। उनले प्रतिपक्षी दलहरुलाई आफूहरुमाथि २४ सै घण्टा निगरानी गर्न र बाटो बिराएमा सच्याइदिन आग्रह समेत गरे। आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गर्ने र अध्यादेश ल्याउने जस्ता गलत क्रियाकलाप अब नदोहोरिने लामिछानेले बताए। आस्थाका आधारमा फरक व्यवहार नहुने र अन्यायपूर्वक विधि मिचेर कसैलाई नफसाइने उनले प्रतिबद्धता व्यक्त गरे।
‘सुशासनको वेग रोकिने छैन, न्याय पाउने हक सहिद र आमाको हो, यसलाई प्रतिशोध भन्न पाइने छैन,’ उनले भने। उनले राजनीतिक सिफारिसमा नियुक्ति लिएका पदाधिकारीहरुलाई स्वेच्छाले मार्गप्रशस्त गर्न समेत अपिल गरे। निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्दै लामिछानेले बिचौलिया र माफियाहरुले बिगारेको व्यावसायिक वातावरण अब सुधार हुने बताए। ‘नीतिहरु अब बजारमा बेचिँदैनन्, निर्णयहरु कसैको दबाबमा बन्ने छैनन्,’ उनले भने, ‘समान अवसर, पारदर्शिता र व्यावसायिक स्वतन्त्रताको जिम्मा सरकारले लिन्छ।’
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई पूर्ण कानुनी र राजनीतिक सुरक्षाको ग्यारेन्टी गरिने बताए। सम्बोधनका क्रममा लामिछानेले शताब्दीयौंदेखि विभेद र अत्याचार भोगेको दलित समुदायसँग सिंगो सदन र सरकारको तर्फबाट माफी मागे। उनले छुवाछुतलाई सामाजिक गल्ती मात्र नभई ‘संगठित अपराध’ को संज्ञा दिँदै अब कुनै पनि नेपालीले जातका नाममा झुक्नु नपर्ने बताए। यसैगरी, उनले महिलाहरुलाई अवसर नदिएको र घरभित्रै सीमित राखेकोमा पनि माफी माग्दै शिक्षा, रोजगारी र राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाए। ‘कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन, महिलाविरुद्धका हिंसामा शून्य सहनशीलता अपनाइनेछ,’ उनले घोषणा गरे।
देशको अर्थतन्त्र धानिरहेका वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको त्यागको उच्च सम्मान गर्दै लामिछानेले उनीहरुको पीडा अब राज्यको प्राथमिकता बन्ने बताए। श्रम माफिया र बिचौलियाहरु अब कारबाहीको भागीदार हुने चेतावनी दिए । उनले भने, ‘खाडी क्षेत्रमा जाने हाम्रा राजदूतहरु अब बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरुमा भेटिनेछन्।’ साथै, उनले विदेशमा रहेका युवाहरुलाई नेपालमै फर्किएर आर्थिक विकासमा जोडिन आह्वान गरे।
छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई लिएर अब विदेशी चलखेल र सस्तो राजनीति नहुने लामिछानेले प्रष्ट पारे। उनले प्रतिपक्षलाई समेत साथमा लिएर मित्रवत्, पारदर्शी र राष्ट्रहितमा आधारित परराष्ट्र नीति तय गरिने बताए। लामिछानेले यो संसद र सरकार जनताको भएको बताउँदै देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाज निर्माण नै आफूहरुको एक मात्र लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा