गरिबी होइन, गरिबलाई नै हटाउने सरकारको मानसिकता देखियो: गगन थापा

राजनीति

गरिबी होइन, गरिबलाई नै हटाउने सरकारको मानसिकता देखियो: गगन थापा

Gagan_Thapa

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारका सकारात्मक कामको स्वागत गर्ने र कमजोरीप्रति खबरदारी गर्ने दायित्व रहेको बताएका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा अर्थतन्त्रका संरचनागत सुधारका लागि केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको बताएका छन् ।

उनले भने, ‘जहाँ ठीक कुरा भएको छ, त्यसलाई हामीले ठीक भन्नु पर्छ । संरचनागत सुधारका लागि ल्याइएका सकारात्मक विषयहरूको स्वागत गर्नुपर्छ । तर सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ । गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत छ ।’

सरकारले गरिबी हटाउने होइन, गरिबलाई नै हटाउने मानसिकता देखाएको टिप्पणी गरे ।

राज्यको प्रवृत्ति गरिबको समस्या समाधान गर्नुभन्दा उनीहरूलाई विस्थापित गर्नेतर्फ उन्मुख देखिएको आरोप लगाए । उनले भने, ‘मेरो अगाडि जो गरिब पर्छ त्यसलाई म मास्दिन्छु, हटाई दिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोच भएको कुरा सिर्जित छ । हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौं ।’

उनले भने, ‘सरकारले संविधान मास्छ, कांग्रेस उभिन्छ । सरकार कानुनका विरुद्धमा बोल्छ, कांग्रेस उभिन्छ । सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन त्यसको नीति, स्रोत–साधन, नियम, कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले प्राप्त गर्नुपर्छ भनेर त्यहाँ कांग्रेस उभिन्छ । त्यो अपोजिसनको ड्युटी हो ।’

सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष पूरा गर्नु अनिवार्य हुने बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसीप एकेडेमीको कोर्ष पूरा नगरेका नेतालाई उम्मेदवार नबनाइने बताएका हुन् ।

‘हामीले अहिले नेतृत्वको छुट्टै युनिट बनाएका छौं, लिडरसीप एकेडेमी भनेर । जसमा केही दिनमा हामी यसमा खुला आह्वान गर्छौं,’ सभापति थापाले भने, ‘७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनु भएको छ, नयाँ उम्मेदवार बन्न चाहनु भएको छ । अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ । र, एउटा कोर्ष पूरा गर्नैपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ