चुनावमा रास्वपाको पक्षमा सुनामी चल्नुमा सेना, कार्की सरकार र निर्वाचन आयोगको भूमिका विस्तारै खुल्दैछ: माधव नेपाल

राजनीति

चुनावमा रास्वपाको पक्षमा सुनामी चल्नुमा सेना, कार्की सरकार र निर्वाचन आयोगको भूमिका विस्तारै खुल्दैछ: माधव नेपाल

सरकारप्रति जनताको आशा तुहिसकेको टिप्पणी, टाउको लुकाएर नहिँड्न नेता कार्यकर्तालाई निर्देशन

madhav nepal

काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले पार्टीपंक्तिलाई टाउको लुकाएर नहिँड्न आग्रह गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै फागुन २१ को चुनावमा एउटा सुनामी आएपछि रक्षात्मक भएर हिँड्न आवश्यक नभएको बताए।

उनले भने, ‘हाम्रा साथीहरू कता कता डिफेन्सिभ भएको म देख्छु। विरोधीहरू आक्रामक, हामीहरू चाहिँ टाउको लुकाएर भाग्नु पर्ने स्थिति छ। केही आवश्यकता छैन भाग्नको लागि। यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो। यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ। बेला बेलामा सुन्ने गर्छौँ पोल खोल्दिन्छु भन्दै छन् त्यहीँ भित्रका मान्छेहरू।’

उनले रास्वपाको पक्षमा सुनामी आउनुमा नेपाली सेना, शुशिला कार्की सरकार र निर्वाचन आयोगको भूमिकाबारे पनि विस्तारै खुल्दै जाने बताए।

उनले थपे, ‘त्यसो हुनाले यसमा आत्तिनु पर्ने केही आवश्यकता छैन। हाम्रै अनुभव भन्छ भने हामीले नै मत प्राप्त गरेका छौँ। ६४ मा पनि त्यस्तै हावाको वेग चलेको होइन? खुला मञ्चमा म आएपछि माओवादी पार्टीको पक्षमा झण्डै बहुमत पुगेको होइन? २०७४ सालमा नेकपा एमाले एक्लै बहुमत प्राप्त गरेर, माओवादीको साथमा झण्डै दुई तिहाइको हैसियत प्राप्त गरेर देखाएको होइन? तर टिकेन। त्यसैले अब त बर्बाद भयो भनेर निराश हुनुपर्ने आवश्यकता छैन।’

उनले सरकारप्रति जनताको आशा तुहिसकेको टिप्पणी गरे।

उनले भने, ‘सुरु कै दिनदेखि सुकुम्वासीहरूमा सरकारले व्यवहार गर्‍यो, उनीहरूको परिवारको बिजोग बनाइदियो, कुनै सूचना छैन, कुनै समय दिइएको छैन, कुनै वैकल्पिक व्यवस्था गरेको पनि छैन, वैकल्पिक व्यवस्था गर्न दिएको पनि छैन, हठात् आक्रमण गरेर जुन हिसाबले सरकारले व्यवहार गरेको छ, यसलाई कुनै पनि सभ्य मान्छे, कुनै पनि विधिको मार्ग पालना गर्ने मान्छेले, मानवीयता भएको मान्छेले स्वीकार गर्न सक्दैन।’

उनले रक्षात्मक नभई सरकारले गरेको गलत कामको प्रचार गर्नको लागि निर्देशन दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds