पोखरा । नेपाल र भारतबीचको सीमासम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा पोखरामा प्रर्दशन भएको छ । प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिवादमा राजनीतिक दल र नागरिक समाज सडकमा उत्रिएका हुन् ।
पोखराको सहिद चोकमा भएको कार्यक्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको भनाइ राष्ट्रघाती र तथ्यहीन भएको भन्दै चर्को नाराबाजी गरे । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बरालले प्रधानमन्त्री शाहले आफ्नो तथ्यहीन र गैरजिम्मेवार अभिव्यक्तिप्रति संसद् र नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री शाहले राष्ट्रिय सार्वभौमसत्तामाथि खेलबाड गर्ने खालका गैरजिम्मेवार अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरे । ‘सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पर्छ,’ उनले भने, ‘प्रधानमन्त्री शाहले अभिव्यक्ति फिर्ता नलिए राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि सम्पूर्ण राष्ट्रवादी र नागरिक समाजले आन्दोलनमा जानेछन् ।’ उनले निश्चित राजनीतिक दल भन्दा पनि स्वतन्त्र देशभक्त नागरिकको तर्फबाट आन्दोलन गर्ने चेतावनी दिए ।
जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले सुस्ता र कालापानीसहित ७१ स्थानमा भारतकोतर्फबाट सीमा मिचेको दाबी गर्दै नेपालले सीमा मिचेको ठाउँ देखाउन प्रधानमन्त्री शाहलाई आग्रह गरे । उनले सीमा समस्यालाई कूटनीतिक संवाद र ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्नुपर्नेमा देशको कार्यकारी प्रमुखले नै ‘उल्टो दाबी’ गर्नु कूटनीतिक मर्यादा बाहिरको विषय भएको तर्क गरे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य केशवहादुर परियार र नेकपा (माओवादी) कास्कीका प्रतिनिधि उमेश सिके लगायतले सीमासम्बन्धी गम्भीर विषयमा प्रधानमन्त्री शाहबाट आएको असंवेदनशील र आत्मघाती टिप्पणीले नेपालको कूटनीतिक अडानलाई कमजोर पारेको दाबी गरे ।
२०७७ जेठ ७ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेका थिए । उक्त नक्सा ऐतिहासिक तथ्य, सन्धि–सम्झौता र प्रमाणका आधारमा संघीय संसद्ले सर्वसम्मतिले अनुमोदन गरी संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको अवस्थामा प्रधानमन्त्री शाहको यस्तो भनाइ आउनु संविधानकै अपमान भएको दाबी छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण