सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ

मजाक राजनीति

सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ

मनोरञ्जन लिँदै ‘कोर टीम’

balen

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे ।

रोमन अक्षर तर नेपाली भाषामा प्रधानमन्त्री लेखेका छन्, ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’

कुनै इमोजी वा ख्यालठट्टाको संकेत प्रयोग नभएकाले स्टाटस ‘सिरियस’ जस्तो देखिन्छ । यद्यपि प्रधानमन्त्री शाह शुक्रबार र शनिबार त्यति सिरियस मुडमा हुँदैनन् भन्ने धेरैलाई थाहा भइसकेको कुरा हो । यो स्ट्याटसले पनि उनको ‘होलिडे मुड’ लाई नै झल्काएको छ ।

होलिडे मुडमा शाहले आफू देशको प्रधानमन्त्री हुँ भन्ने बिर्सेका त पक्कै होइन । उनको स्ट्याटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई गर्न खोजिएको व्यंग्य हो भनेर बुझ्न कठिन छैन । तर यस्तो ‘स्तरहीन’ व्यंग्यले प्रधानमन्त्री पदको गरिमालाई बढाउन मद्दत अवश्य गर्दैन ।

गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले आफूलाई राजदूत बन्ने इच्छासहित पठाएको एसएमएसलाई व्यङ्ग्य गर्न प्रधानमन्त्री शाहले त्यो स्टाटस लेखेका हुन् ।

सचिव डा. पुस्करले प्रधानमन्त्री शाहलाई लेखेको एसएमएसमा भनिएको थियो-

‘सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भएमात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ । यसैबिच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।
आज्ञाकारी
कृष्णहरि पुस्कर
सचिव नेपाल सरकार
जलेश्वर ४ सुगा, महोत्तरी ।’

त्यही म्यासेजका कारण सचिव डा. पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नै ७ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।

त्यही विषयलाई व्यङ्ग्य गर्न प्रधानमन्त्री शाहले फेसबुकमा स्टाटस लेखेका हुन् ।

उनले लेखेको स्टाटसमा मन्त्री, सत्तारुढ दलका सांसद लगायतले ‘हसीमजाक’सहित कमेन्ट गरेका छन् ।

उनको त्यो स्टाटसमा सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कमेन्ट गर्दै लेखेका छन्, ‘म्यासेज गर्दिम्’ ।

उनले मात्रै होइन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रञ्जु दर्शना भनेर चिनिने रञ्जु न्यौपाने र ज्वाला सङ्ग्रौला भनेर चिनिने टीका सङ्ग्रौलाले पनि कमेन्ट गरेका छन् ।

दर्शनाले कमेन्टमा लेखेकी छन्, ‘पीएम पनि एम्बासडर पनि बन्न पाइँदैन । एउटा चुज गर्नुस् पहिले ।’

सङ्ग्रौलाले कमेन्टमा लेखेकी छन्, ‘मसँग छ तर दिन्नँ ।’

उनीहरूले मात्रै होइन, ‘रुटिन अफ् नेपाल बन्द’ नामक फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल र फिल्म निर्माता आसिफ शाहले पनि मजाक झल्किने खालका कमेन्ट गरेका छन् ।

आफ्नै मातहतको एउटा कर्मचारीलाई यसरी पब्लिक प्लेटफर्ममा तेजोबध गर्न खोज्नु प्रधानमन्त्रीको पुरूषार्थ हुँदै होइन । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यदाकदा हास्यरस प्रयोग गर्न सक्छन्, तर संवेदशील विषय र जिम्मेवार पात्रमाथि मजाक गर्न मिल्दैन ।

शाहले राति लेखेको यो स्ट्याटस बिहान डिलिट हुने अनुमान थियो । तर अहिलेसम्म भएको छैन । बरू प्रधानमन्त्रीको कोर टीम र रास्वपाका सांसदहरू उनको कमेन्ट बक्समा आएर मनोरञ्जन लिइरहेका छन् ।

प्रधानमन्त्रीको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् । तर कमेन्ट बक्समा केही प्रवुद्ध व्यक्तिहरूले प्रधानमन्त्रीलाई यसरी हल्का रूपमा प्रस्तुत नहुन सुझाव दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds