पोखराका तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त

नियुक्ति

पोखराका तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त

tirtha shrestha

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले पोखराका तीर्थ श्रेष्ठलाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गरेका छन् ।

कोषको अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त पदमा मनोनित गरेका हुन् । नियुक्तिपत्र बिहीबार श्रेष्ठले मन्त्री पौडेलबाट बुझे ।

पोखराको प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा २५ वर्षदेखि सचिव र वरिष्ठ उपाध्यक्षका रूपमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका श्रेष्ठलाई पशुपतिको भद्रगोल व्यवस्थापन सुधार्ने मुख्य जिम्मेवारी मन्त्री पौडेलले दिएका हुन् । श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवका साथै पोखराका पूर्वउपमेयरसमेत हुन् । श्रेष्ठको नियुक्तिसँगै पशुपति क्षेत्र विकास कोषको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ । कोषले पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन, सम्पदा संरक्षण तथा धार्मिक गतिविधिको समन्वय गर्दै आएको छ ।

२०१६ साल कात्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मिएका श्रेष्ठ नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा स्थापित नाम हो । २०३६ सालको ऐतिहासिक सडक कविता क्रान्तिबाट उदाएका श्रेष्ठले नेपाली लेखक संघको केन्द्रीय अध्यक्ष तथा पोखरेली युवा सांस्कृतिक परिवारको तीन पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन् । उनको ‘आमा’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’ र ‘महाभारतका गीतहरू’ लगायत काव्यकृतिहरू चर्चित छन् ।

साहित्यिक र सांस्कृतिक योगदानका लागि उनलाई युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र प्रबल जनसेवा श्री पदक लगायतबाट सम्मानित गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पुरातात्विक महत्वको संरक्षण, कोषको पारदर्शी आर्थिक व्यवस्थापन र पदाधिकारीहरूबीचको समन्वय श्रेष्ठका मुख्य चुनौती छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ