देउवापुत्र जयबीरको नाममा सम्पत्तिः काठमाडौं, पोखरादेखि तराईमा समेत

राजनीति

देउवापुत्र जयबीरको नाममा सम्पत्तिः काठमाडौं, पोखरादेखि तराईमा समेत

कास्कीको ढिकुरपोखरीमा २२ रोपनी

jayveer deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको छ ।

सार्वजनिक रूपमा कुनै ठूलो व्यवसायमा नदेखिएका ३१ वर्षीय जयवीरको नाममा ५ वर्षको अवधिमा काठमाडौँदेखि बर्दिया र कास्कीसम्म ७५ रोपनी भन्दा बढी जग्गा खरिद भएको तथ्य बाहिरिएपछि विभागले अनुसन्धान सुरु गरेको छ । यसअघि देउवा दम्पतीलाई समेत विभागले बोलाइसकेको छ । कुन–कुन ठाउँमा छ जयवीरको नाममा अर्बौंको जग्गा ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन पुर्जी जारी गरेको छ ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा बयान तथा जानकारी आवश्यक रहेकाले उपस्थित हुन निर्देशन दिएको जनाएको छ। पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ ।

यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि विभागमा उपस्थित हुन भनेको छ । देउवा दम्पतीले साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी गराएका छन् । शेरबहादुर पुत्र ३१ वर्षीय जयबीर भने सार्वजनिक रूपमा सक्रिय राजनीतिक वा व्यावसायिक भूमिकामा खासै देखिँदैनन । केही समयअघि उनी ब्लूप्रिन्ट ट्रेडिङ प्रा.लि. का शेयरधनी रहेको विवरण सार्वजनिक भएको थियो ।

त्यसबाहेक उनको प्रमुख व्यापार वा आम्दानीको स्रोतबारे स्पष्ट जानकारी सार्वजनिक छैन । बेलायतमा अध्ययन गरेका जयवीरको नाममा रहेको अचल सम्पत्तिको स्रोतबारे पछिल्ला वर्षहरूमा प्रश्न उठ्दै आएको थियो । अहिले सम्पत्ति शुद्धीकरण विभागको औपचारिक चासोपछि त्यो बहस पुनः केन्द्रमा छ ।

जयवीर सिंह देउवाका नाममा पाँच वर्षमा ७५ रोपनी ९ आना १ पैसा १ दाम जग्गा जग्गा खरिद भएको तथ्यहरु बाहिरिएको धेरै भयो ।

काठमाडौंको चपलीदेखि, बर्दियाको ढोढरी, कास्कीको ढिकुरपोखरी लगायतका ठाउँमा ती जग्गा खरिद भएको देखिन्छ ।चलनचल्तीको बजार भाउमा खरिद भएका यी जग्गाको अनुमानित मूल्य एक अर्ब भन्दा बढी हुन आउँछ ।

वि.स २०७४ देखि २०७८ को अवधीमा शेरबहादुर देउवाका छोरा जयवीरको नाममा ती जग्गा खरिद भएका छन् ।

चपलीमा झन्डै २ रोपनी जग्गा

२०७४ चैत १४ गते काठमाडौंको चपली क्षेत्रमा कित्ता नं. २२, ३८६, ३९९ र ४७९ रहेको करिब ९६६ वर्गमिटर क्षेत्रफलको जग्गा जयवीरको नाममा खरिद भएको देखिन्छ ।

उक्त क्षेत्र व्यावसायिक तथा आवासीय दुवै हिसाबले महँगो मानिन्छ । हालको बजार मूल्यअनुसार त्यसको न्यूनतम मूल्य करिब १२ करोड रुपैयाँ आँकलन गरिएको छ ।

ढिकुरपोखरीमा २२ रोपनी

२०७७ चैत ४ गते कास्कीको साविक ढिकुरपोखरी वडा नम्बर ९ को कित्ता नम्बर १९१८ को १ हजार ४३ वर्गमिटर जग्गा पास भएको देखिन्छ ।

देवका अधिकारीको कित्ता नम्बर १९१८ जग्गा सबै जयवीरको नाममा पास भएको छ । त्यसैगरी, २०७७ चैत ४ गते नै कास्की ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९१९ को ३ रोपनी अर्थात १ हजार ५२६.२२ वर्गमिटर जग्गा पनि जयबीरकै नाममा आएको छ । त्यसपछि २०७८ मंसिर १२ गते कास्कीकै ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९२० को ३ रोपनी अर्थात १ हजार ५२६.२२वर्गमिटर जग्गा जयवीरको नाममा नामसारी भएको देखिन्छ ।

यस्तै, नारायणप्रसाद अधिकारीको नाममा रहेको जग्गा पनि जयवीरको नाममा नामसारी भएको देखिन्छ । त्यसैगरी, अधिकारीकै नाममा रहेको अर्को कित्ताको ३ रोपनी जग्गा पनि २०७८ चैत २४ मा जयवीरको नाममा पास भएको देखिन्छ । २०७७ देखि २०७८ बीच कास्कीको ढिकुरपोखरी क्षेत्रमा जयवीरको नाममा २२ रोपनीभन्दा बढी जग्गा नामसारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले औपचारिक रूपमा बयान र विवरण मागेपछि अब अनुसन्धानको केन्द्र सम्पत्तिको स्रोत, आयको वैधानिकता र सम्पत्ति विवरणमा उल्लेख भए नभएको विषय बन्ने देखिएको छ । देउवा परिवारमाथि लागेको आरोप पुष्टि हुन्छ वा वा खण्डन त्यो भने अनुसन्धान सकिएपछि मात्रै स्पष्ट हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ