राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन ठूलो हुने बताएका छन् । सामाजिक सञ्जाल लेख्दै उनले सरकार वा पार्टीको बचाउ गर्ने क्रममा मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न आग्रह गरेका छन् ।
उनले रास्वपा र सरकारका समर्थकलाई सम्बोधन गर्दै सरकार र पार्टी जोगाउने नाममा मानवीय जीवनभन्दा ठूलो तर्क नगर्न आग्रह गरेका छन् । ‘प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ ल,’ उनले लेखेका छन् ।
कार्कीले नियम मानिसका लागि बनेको भन्दै नियम पालना गर्दा नै मानिसलाई असह्य अवस्था सिर्जना हुने हो भने त्यस्ता नियमको पुनरावलोकन गर्नुपर्ने वा त्यसबारे नागरिकलाई अझ प्रभावकारी रूपमा बुझाउनुपर्ने धारणा राखेका छन् ।
‘मान्छे र नियममध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हो । र पनि जवाफ दिनुपर्छ भने म मान्छे रोज्छु । तपाईं के रोज्नुहुन्छ ?’ उनले लेखेका छन् ।
कार्कीले नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने तथ्य स्मरण गराउँदै आत्महत्याका प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने उल्लेख गरेका छन्। यी दुवै अवस्थालाई समयमै संवाद, सचेतना र सहयोगमार्फत न्यूनीकरण गर्न सकिने भन्दै उनले आत्महत्या रोकथामका विषयमा गम्भीर बहस र जनचेतना आवश्यक रहेको बताएका छन्।
‘सुकुम्बासीमाथि नराम्रो भयो, गणेश आत्मदाहसम्म किन पुगे खोज्नुपर्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनको नाममा आफ्नै पार्टीको सरकारले गरेको काम अनुचित भएको बताएकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले दूध चुसाइरहेकी आमा, सुत्केरी र वृद्धहरूलाई व्यवस्थापनको नाममा राम्रो व्यवहार नभएको उल्लेख गरेकी हुन्।
‘रोग, शोक र भोकमा बग्ने आँसु झुटो हुँदैन। हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा ‘१०० दिने कार्यसूची’को बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘दूध चुसाइरहेकी आमा, सुत्केरी, वृद्ध बा–आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक–पटक आवाज उठाएँ । सम्बन्धित निकायमा पनि निवेदन गरेँ । यो कामचाहिँ सरकारको तर्फबाट ठीक ढंगले भएन ।’
साथै, गरिखान हिँडेका युवाहरू आत्मदाहसम्मको स्थितिमा पुग्नुको कारण राज्यले खोज्नुपर्ने उनले बताएकी छन् । ‘आज गणेश नेपालीको आत्मदाह, उनको उपचार खर्च व्यहोर्नेसम्म सीमित रहन मिल्दैन । गणेश नेपाली आफैँलाई जलाउने विन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ,’ उनले लेखेकी छन्, ‘एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए, तर दैनिक ‘मैले सकिन, मरौँ कि क्या हो’ भन्ने सोच आउने लाखौँ युवाका लागि जीवन केही भए पनि सहज हुने नीति सरकारबाट चाहिन्छ ।’
मनोपरामर्शले मात्रै समाधान नदिने भन्दै सांसद दर्शनाले श्रमजीवीहरूको रोदन राज्यले सुन्न सक्नुपर्ने बताएकी छन् ।
‘मैले सकिन भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नुसम्म ठेलेपछि यथार्थबाट आएको हुन्छ । मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन ! जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठूलो सुरक्षा हुन्छ,’ उनले भनिन्, ‘१०० दिनमा आमूल परिवर्तन, लाखौँ रोजगारी एकैपटक सिर्जना गर्न सकिँदैन, त्यसको जग निर्माणको अध्ययन र सुरुवात गर्न मात्र सकिन्छ । जुन काम हुँदै पनि छ । सबैलाई एकैपटक खुसी बनाउन पनि सकिँदैन, तर पिँधमा रहेका श्रमजीवी, गरिबहरूको रोदन भने रोक्न सकिन्छ । सरकारको ध्यान जाओस् । मैले भनेको यो कुरा सामाजिक सञ्जालको रेकर्डमा पनि बसोस् ।’
सम्बन्धित खबर
रास्वपा सांसद नै भन्छन्– प्रिय समर्थकहरू सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ
गणेश नेपालीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन
गणेश जेनजी आन्दोलनमा हिँडेको खुलासा, रक्षाको आक्रोश: देश बनाउनेले पहिले देश बुझ्नू
वीर अस्पतालले भन्यो– गणेश नेपालीको अवस्था चिन्ताजनक छ, कुनै पनि समयमा अवस्था बिग्रन सक्छ
बालकृष्ण खाण संगठित अपराधको मतियार, टोपबहादुर राज्यविरुद्धको कसुरमा दोषी ठहर
कांग्रेस इतर पक्षका नेताको दबाब : ‘एकता नभए नयाँ पार्टी बनाऔं’
यो पनि पढौँ
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
भदौ २३-२४ को घटनामा हामी मारिने अवस्थामा थियौं: प्रचण्ड