डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक, आज हस्ताक्षर हुने दाबी

वार्ता

डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक, आज हस्ताक्षर हुने दाबी

govinda kc barta

धनगढी। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको नियुक्ति बदरसहित विभिन्न सातबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। आइतबार दिनभर दुई पक्षबीच गहन छलफल भए पनि अन्तिम सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ।

डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. अमृत जैसीका अनुसार वार्ता निष्कर्ष नजिक पुगेको र सोमबार थप गृहकार्य गरी सहमति पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ। “सहमति पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ,” डा. जैसीले भने, “गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई द्रुत गतिमा अघि बढाउने डा. केसीको चाहना हो, यो सहमतिले त्यसलाई साकार पार्न मद्दत पुर्‍याउनेछ।”

स्रोतका अनुसार गेटास्थित विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई बर्खास्त गर्ने विषयमा दुवै पक्षबीच कुरा मिल्न बाँकी छ। डा. केसीले रजिस्ट्रार चन्दको बर्खास्तीलाई अनिवार्य सर्त बनाएका छन् भने सरकारी वार्ता टोलीले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श गरिरहेको छ। उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीको हकमा भने डा. केसी केही लचक देखिएका छन्।

डा. केसीले गत बिहीबार धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालाबाट आफ्नो सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। आइतबार सेती प्रादेशिक अस्पतालमै सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता भएको हो।

डा. केसीका मुख्य मागहरूमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको राजनीतिक नियुक्ति रद्द गरी खुला प्रतिस्पर्धाका आधारमा नयाँ नियुक्ति गरिनुपर्ने रहेको छ। यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, र चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान कार्यान्वयन हुनुपर्ने उनको माग छ।

यसैगरी, विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू पालना गरिनुपर्ने, सीमावर्ती एवं विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गरिनुपर्ने तथा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत डा. केसीले अघि सारेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ