नेपाल आयल निगमले उपभोक्ताले ‘प्यानिक बाइङ’ (अनावश्यक संचिति) गर्दा कृत्रिम ग्यास अभावको स्थिति सिर्जना भएको जनाएको छ ।
अमेरिका, इजराइल-इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण निगमले २९ फागुन २०८२ देखि आधा सिलिण्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो ।
आपूर्तिमा कुनै समस्या नआउने भएपछि ३१ असार २०८३ देखि निगमले साविककै १४.२ केजी ग्यास दिने निर्णय गरेको थियो । निगमले भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको १७ दिन बित्दा ग्यास अभाव नै सिर्जना भइसकेको छ ।
भरी सिलिन्डर (१४.२ केजी) मा जाने भएपछि उक्त ग्याप फुलफिल गर्न समय लाग्ने देखिनु स्वाभाविकै भए पनि आधा सिलिन्डर बिक्री गर्दा मासिक मागअनुसार खपत समेत हुन नसकेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।
१४.२ केजीकै सिलिन्डर पर्खेर बसिरहेकाले अहिले अभाव सिर्जना भएको उनको भनाइ छ । ‘१४.२ केजीकै सिलिन्डर नकुरेको भए सिलिन्डरहरू भरी हुन्थ्यो र त्यति समस्या हुन्न थियो,’ उनले भने, ‘१४.२को खाली सिलिन्डर ग्यास बजारमा आइसकेपछि सबै खाली सिलिन्डर एकै पटक बजारमा निस्कन थाल्यो । त्यसले ग्यास कृत्रिम अभाव सिर्जना भयो ।’
भारतबाट नियमित रुपमा ग्यास आपूर्ति भइरहेको भन्दै ठाकुरले उद्योगबाट बिक्रेता वा डिलरसम्म पुगे पनि खाली सिलिन्डर धेरै भएकाले ग्यास बिक्रेताको जानेबित्तिक्कै सकिने बताए । ‘ग्यास सहज रुपमा नपाउँदा एउटा मात्रै सिलिन्डर भएकाहरूले दु:ख पाए,’ उनले भने, ‘ग्यास आपूर्तिमा कुनै समस्या छैन । प्यानिक बाइङ नगर्न आग्रह गर्छौ । आवश्यक नभएका मानिस लाइनमा नबस्न आग्रह गर्छौं ।’
निगमले शनिबार विज्ञप्ति जारी गर्दै बजारमा १४.२ केजी एलपी ग्यास अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ । निगमका अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन हो । साथै, बिक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।
निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५४१९१०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।
सरकारले ग्यास वितरण नीति परिवर्तन गर्दा बजारमा पर्ने प्रभावको पूर्वआकलन गर्न नसक्नु, व्यवसायीले सन्तुलित वितरण प्रणाली लागु गर्न नसक्नु र उपभोक्ताले त्रासका कारण आवश्यकता भन्दा बढी सिलिन्डर होल्ड गर्नु नै अहिलेको समस्याको मुख्य जड हो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा