पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । उनले अध्यक्षका प्रत्यासीहरु अन्य ३ जनालाई पछि पार्दै पोखराकै जेठो एवं निजी क्षेत्रको छाता संगठन संघको ७२ वर्षे इतिहासमा पहिलोपल्ट महिला नेतृत्वमा रेकर्ड बनाउन सफल भइन्। संघको इतिहासमा हीरा भट्टराई र बिन्दु कोइरालालेले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् ।
वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् ।
संघको ३६ औं महधिवेशनमा २७३१ सदस्य मतदातामध्ये अध्यक्ष र पदाधिकारीका लागि २२७४ मत खसेको थियो । सोमबार साँझ अन्तिम नतिजामा निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले हराउँदै शोभा निर्वाचित भएकी हुन् ।
मतपरिणाम अनुसार दोस्रोमा अर्जुन पोखरेल, तेस्रोमा उत्तममान बुद्धाचार्य र चौथोमा बलराम आचार्य सीमित रहे । अध्यक्षका प्रत्यासीहरु गौतम र आचार्यले भने प्यानल नै बनाएर चुनाव लडेका थिए ।
गौतमले ७५१ मत प्राप्त गर्दा पोखरेलले ६३७ मत ल्याए । बुद्धाचार्यको ६०१ र आचार्यको २५३ मत रहेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । तीमध्ये उपाध्यक्ष (उद्योग) मा निर्वाचित थापा भने गौतम प्यानलका हुन् ।
१० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए ।
४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताए।
संघको कार्यकाल २ वर्षको हुनेछ ।
यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।
नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।
त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।
गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्याएको हो ।
यस पटकको महाधिवेशनका लागि गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने