स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी र सेतीखोलामा आएको भीषण बाढीले करिब २५ घरमा क्षति पुर्याएको छ । बाढीले घर तथा पसलमा रहेका खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा र अन्य सामान बगाउँदा स्थानीयको करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना भए पनि सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलाको पानी बढ्दै गए पनि विगतमा जस्तै सामान्य बाढी आउने अनुमान गरेका थिए । शनिबार रातिसम्म पनि दुवै खोला सामान्य रूपमा बगिरहेका थिए ।
तर राति करिब १२ बजे माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेको सूचना सेतीवेणी प्रहरी चौकीमा पुगेपछि प्रहरीले तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान थालेको थियो । प्रहरीले आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानतर्फ जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।
बाढीले स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको संगमस्थल सेतीवेणी बजारलाई नराम्ररी प्रभावित बनाएको छ । पर्वततर्फ नौ घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । त्यससँगै जोडिएको स्याङ्जाको गल्याङ–५ बजार क्षेत्र पनि पूर्ण रूपमा डुबानमा परेको थियो ।
स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका वा क्षतिग्रस्त भएका छन् । अहिले बस्तीका कतिपय स्थानमा बालुवा र गिटी थुप्रिएर बगरजस्तै बनेको स्थानीय रेशमलाल न्यौपानेले बताए ।
‘असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,’ उनले भने ।
बाढीले प्रहरी चौकीसहित खाद्यान्न पसल, विद्युतीय सामग्रीका पसल, भाँडाकुँडा, फेन्सी पसल र होटलमा क्षति पुर्याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थाका कार्यालयसमेत डुबानमा परेका छन् ।
गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले मात्रै करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।
होटल व्यवसायी उमाकान्त न्यौपानेको घर तथा व्यवसायमा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । अहिले उनी परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।
‘अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,’ उनले भने ।
स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेका अनुसार पर्वततर्फ घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।
स्याङ्जातर्फको बजार पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी क्षणभरमै बाढीले बगाएको बताए । उनका अनुसार पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढीका सामान बाढीले नष्ट गरेको छ ।
गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँ रुपैयाँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको उनले जानकारी दिए ।
बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको वडाध्यक्ष भट्टराईले बताए ।
वर्षौँको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि सेतीवेणीका धेरै स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने कि जोखिम मोलेर पुरानै ठाउँमा घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलमा उनीहरू छन् ।
स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीपछि बजार क्षेत्र असुरक्षित बनेकाले स्थानीयलाई नयाँ ठाउँमा जाने वा जोखिम मोलेर सोही ठाउँमा पुनः बस्ने भन्ने विषयमा निर्णय लिन कठिन भएको बताए ।
बाढीले स्याङ्जातर्फको बस्ती र व्यवसायमा ठूलो क्षति पुर्याएपछि स्थानीयले अब सेतीवेणीको दीर्घकालीन सुरक्षा र सुरक्षित पुनःस्थापनाबारे ठोस योजना आवश्यक रहेको बताएका छन् ।
उनीहरूका अनुसार तत्काल राहतसँगै जोखिमयुक्त बस्तीको व्यवस्थापन र भविष्यमा बाढीबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन पहल गर्नुपर्ने अवस्था आएको छ ।
सम्बन्धित खबर
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने