गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन्।
गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको जिकिर समेत गरे।
मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको बताए।
गृहमन्त्री खाणले राष्ट्रपतिको उक्त गैरसंवैधानिक कामको बिरोध गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरुलाई अनुरोध गरे।
‘राष्ट्रपतिजीले यसलाई प्रमाणीकरण गर्नैपर्ने हो। पुनः पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन। यसमा हाम्रो र गठबन्धन पार्टी र सरकारको निस्कर्ष के छ भने यो नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको जुन कदम हो। यो असंवैधानिक कदम हो। संविधान विपरीतको कदम हो यो’, उनले भने, ‘त्यतापट्टी सारा संसारको ध्यान जाओस्। तपाईंहरुको पनि ध्यान जाओस्। हामीले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने गरी सो विधेयक ल्याएको हो। छोरीले नागरिकता पायो ज्वाईंले पाएन भनिदिनु हुन्छ के। संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ नि त! त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्नका लागि दुई तिहाइ चाहिन्छ। त्यसकारण मंसिर ४ गतेको निर्वाचनमा दुई तिहाइ दिनुस् हामीलाई। हामी त्यही अनुसार जान्छौं।’
गृहमन्त्री खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गरे। गैरआवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो। गृहमन्त्री खाणले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहोर्याए।
गृहमन्त्री खाणले सरकारले गैरआवासीय नेपालीहरुको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिए।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने