कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो मूल मुद्दा पुनः संवैधानिक राजसंस्था हुने निर्णय गरेको छ । पार्टीको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
२०६३ मा गणतन्त्र स्थापना हुँदा राजतन्त्र पुनःस्थापनालाई मूल मुद्दा बनाएका थापाले २०७८ फागुनमा राप्रपासँगै राजतन्त्रको मुद्दा छाडेका थिए । राप्रपाको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा मात्र त्यागेनन्, डेढ दशकदेखि बोक्दै आएको संवैधानिक राजतन्त्रको मुद्दा पनि छोडे । उनले आफ्नो पराजयमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) को हात रहेको आरोप सार्वजनिक रूपमै लगाए ।
२०७८ फागुनमा अध्यक्षबाट लाक्पा तामाङलाई राजीनामा गर्न लगाएर राप्रपा नेपालको नेतृत्व लिएयता उनी ‘न राजावादी, न गणतन्त्रवादी’ देखिएका थिए । पार्टी विधानमा आदर्श पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र उनीबाट प्रतिपादित ‘दिव्य उपदेश’ लाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने उल्लेख छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकबाट थापाले पार्टीलाई संवैधानिक राजतन्त्रकै एजेन्डामा फर्काएका छन् ।
‘२०७८ पछि विशिष्ट परिस्थितिमा पुनर्जागृत राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई पार्टीको कार्यनीति बनाएन,’ केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘राप्रपा नेपालको मूलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ, राजसंस्था पुनःस्थापना पार्टीको कार्यनीति हुनेछ ।’ राजसंस्थामा फर्किने घोषणा गर्दा स्वागतमा नेता–कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले यीलगायत अन्य कारणले पार्टीलाई राजसंस्थाको एजेन्डामा फर्काएको बताउँछन् । ‘हाम्रो राजसंस्थाप्रतिको सम्मान कायमै थियो तर विचार र कार्यनीति थिएन,’ उनले भने, ‘देशको अवस्था र समयको मागअनुसार अहिले संवैधानिक राजसंस्थामा जाने निर्णय गरिएको हो ।’
उनका अनुसार पार्टीले राजसंस्थाबारे पुनर्विचार गर्न उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको थियो । लिङ्देन नेतृत्वको राप्रपाभित्र पछिल्लो समय देखिएको विवादले पनि राप्रपा नेपाललाई राजसंस्थामा फर्काउन पृष्ठभूमि तयार गरेको राप्रपा नेताहरूको भनाइ छ ।
साउन अन्तिम साता लिङ्देनलाई आमन्त्रण नगरीकनै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको लोकन्थलीस्थित निवासमा असन्तुष्टहरूको भेला भएको थियो । प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको निर्देशन समितिका सदस्यहरू सहभागी भेलाप्रति संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । ‘राजसंस्थाको लाइन लिएमा राप्रपाको विवादभित्र खेलेर पुनः शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने कमल थापाजीको बुझाइ हुन सक्छ,’ राप्रपाका एक नेताले भने, ‘शक्तिमा आउनका लागि जतिबेला जस्तोसुकै नीति लिने उहाँको विगतले राप्रपाभित्र पनि एकखाले हलचल ल्याएको छ ।’ दुइटै पार्टीको मूलनीति राजसंस्था भएपछि राप्रपाका असन्तुष्ट नेता–कार्यकर्तालाई आकर्षित गर्न सघाउने उनले बताए ।
राप्रपा नेपालका महामन्त्री बर्तौला पनि राप्रपासहित नीति, विचार र सिद्धान्त मिल्ने अन्य पार्टीबीच एकताको सम्भावनालाई नकार्न नसकिने बताउँछन् । राप्रपासँग एकता गर्न हतार नगर्ने तर ‘रिजिट’ पनि नहुने उनको भनाइ छ । ‘राजसंस्था पुनःस्थापनाका लागि सडक आन्दोलन गर्नुपर्ने हाम्रो न्यूनतम सर्त हो, यसमा सहमत हुने जोकोहीसँग कार्यगत एकता र पार्टी एकता सम्भव छ ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान