दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ल्यान्ड गर्ने क्रममा एउटा जेजु एयरको विमान दुर्घटनाग्रस्त भएको छ । यो विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।
दक्षिण कोरियाको अग्नि नियन्त्रण विभागका अनुसार यस भीषण दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको छ ।
जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्कंदै थियो । ल्यान्ड गर्ने क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि आगलागी भएको भिडियोहरु सार्वजनिक भएका छन् ।
सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा विमान ठोक्किएपछि ठूलो आगलागी र कालो धुवाँको मुस्लो देखिएको छ।

Photo: Cho Nam-soo/Yonhap via AP
अग्नि नियन्त्रण विभागले दुई जनालाई जीवितै उद्धार गरेको जानकारी दिएको छ । तीमध्ये एकजना यात्रु र अर्का चालक दलका सदस्य रहेका छन् ।
विमानको पछिल्लो भागबाट उद्धार कार्य जारी छ । घटनास्थलमा ३२ वटा दमकल गाडी र ८० जना उद्धारकर्मी खटिएका छन् ।
विमानमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको बताइएको छ ।
दुर्घटनाको यकिन कारण हालसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटना चरा ठोक्किएर भएको हुनसक्ने आशंका गरिएको छ ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोक घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । उनले जनशक्ति, स्वास्थ्य सेवा, र आवश्यक उपकरणको व्यवस्था गर्न आदेश दिएका छन्।
सरकारले पीडित परिवारहरूलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।
जेजु एयरले विज्ञप्ति जारी गर्दै यो घटनाका लागि माफी मागेको छ ।
‘हामी यस दुर्घटनाका कारण प्रभावित सबैलाई गहिरो शोक व्यक्त गर्दछौं । उद्धार कार्य र घटनाको छानबिनका लागि हामी हरेक प्रयास गरिरहेका छौं,’ जेजु एयरले भनेको छ ।
विमान निर्माता बोइङको प्रतिक्रिया
दुर्घटनामा परेको विमान बोइङ ७३७-८०० मोडलको हो। बोइङले घटनाप्रति शोक व्यक्त गर्दै जेजु एयरसँग सम्पर्कमा रहेको जनाएको छ ।
दक्षिण कोरियाको विमान सुरक्षालाई विश्वकै सुरक्षितमध्ये मानिन्छ । तर, जेजु एयरको यो पहिलो घातक दुर्घटनाले विमान सुरक्षामा प्रश्न खडा गरेको छ ।
मुआन विमानस्थल राजधानी सिओलबाट करिब २८८ किलोमिटर टाढा रहेको छ । उद्धार कार्य अझै जारी रहेको छ भने दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ