नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आइतबार पोखरामा शपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।
गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले शपथ ग्रहण गराए ।
आगामी ३ वर्षका लागि नवनिर्वाचित उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी छन् ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भएका थिए । सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य छन् । अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध भएका हुन् ।
समारोहमा मुख्यमन्त्री पाण्डेले नवनिर्वाचित कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । उनले संघीयता र प्रदेशका नाममा धेरै गाली खानु परेको गुनासो गरे । उनले प्रदेशमा पहिले अनुभव हासिल गरेकाहरू अहिले केन्द्रमा हुँदा पनि संघीयताको पक्षमा नबोलेकोमा आश्चर्य प्रकट गरे । उनले सामाजिक सञ्जाल र मिडिया छुट्टाछुट्टै हुन् भन्ने कुरा बुझाउँदै जानुपर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले आमसञ्चार विधेयक पारित भई प्रेस रजिस्ट्रार कार्यालय स्थापित भएको र पत्रकारको हकहितका लागि यो कार्यालय लागिपर्ने बताए ।
पत्रकारको बिमाको रकम बढाउँदै जाने उनले प्रतिबद्धता जनाए । पत्रकार महासंघमा संघीयता लागु नभएकोमा उनको थप चिन्ता थियो । ‘गण्डकीको समाचार अलि कम आएको छ । मैले राम्रो गरेको भए राम्रो लेख्नुस् । नराम्रो भए नराम्रो लेख्नोस् तर केही त केही लेख्नोस्,’ उनले पत्रकारलाई सुझाव दिए ।
गण्डकी प्रदेश प्रेस रजिस्ट्रार बिमला भण्डारीले रजिस्ट्रार कार्यालयले आफ्नो कार्यविधि निर्माण अन्त्यतिर ल्याएको बताइन् । पत्रकार महासंघ कास्कीकी निवर्तमान अध्यक्ष समेत रहेकी उनले भनिन्, ‘पत्रकार महासंघ परिवार हो, यहाँ कोहीसँग प्रतिस्पर्धा छैन । सबैसँग मिलेर अघि बढ्नुपर्छ ।’
पत्रकार महासंघ केन्द्रीय सचिव सोनी शर्माले सबैले संघीयताको मर्म अनुसार काम गर्नुपर्ने बताइन् । उनले विरोधका लागि मात्र विरोध नगरौं, सकारात्मक ढंगले कलम चलाउनुपर्छ भनिन् ।
महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकार महासंघको विधान अनुसार काम गर्नुपर्ने सुझाव दिए । उनले हरेक पत्रकारको १५ लाखको स्वास्थ्य बिमा व्यवस्था हुनुपर्नेमा जोड दिँदै संस्थागत र पत्रकारको क्षमता वृद्धिमा काम गर्नुपर्ने बताए । उनले पत्रकार शुद्धीकरणलाई निचोडमा लैजाने काम गरोस् भनी नयाँ समितिलाई शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै यहाँ कसैले हारेको नभई जित नजिक पुगेको भनी बुझ्नुपर्ने बताए । उनले मूलधारका मिडिया बचाएर राख्नुपर्नेमा जोड दिँदै पत्रकारितालाई दिगो रूपमा बचाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए ।
महासंघ गण्डकीका निवर्तमान महासचिवसमेत रहेका अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिँदै श्रमजीवी पत्रकारको हकहितमा सधैँ लागिपर्ने बताए ।
सो अवसरमा प्रेस रजिष्ट्रार नियुक्त बिमला भण्डारी, महासंघ सचिवमा निर्वाचित सोनी शर्मासमेतलाई सम्मान गरिएको थियो ।
महासंघका निवर्तमान उपाध्यक्ष दीपक भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सुशीलबाबु श्रेष्ठ (कैलास) ले गरेका थिए । निर्वाचन समिति सदस्यमा अधिवक्ता बिबि विष्ट र मनोज घर्तीमगर थिए ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो कार्यसमिति, निर्वाचन समितिसहित सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त गरेको महासचिव जमुना वर्षा शर्माले बताइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह