पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले‘वैदेशिक रोजगारी : आर्थिक समृद्धि र सामाजिक सङ्कटका अन्तर्कथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँ मात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’ केसीले भने, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’ उनले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे । वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्याङ्क रहेको जनाउँदै उनले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा. कौशिला रिसालले प्रज्ञा–प्रतिष्ठान वा र्यान्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताइन् । उनले समाजलाई अग्रगति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राखिन् । वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवाहरूलाई आकर्षण गर्नुपर्ने बताउँदै उनले काम सानो ठुलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताइन् ।
कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदिप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्यलगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमूले स्वागत गरेकी थिइन् ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो