पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।
संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ ।
वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा. नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी, पूर्व सम्मानित प्रतिभा डा. पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गरे ।
वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाले पूर्वीय र पाश्चात्य साहित्यको ज्वारतका रूपमा नाट्यसम्राट समका सिर्जनालाई चित्रण गर्दै भने, अक्षरको व्यवसाय गर्नेहरू अहिले हाहाकारमा रहे तापनि पुस्तक नपढ्ने मान्छेले पनि गीत संगीत सुन्ने भएकाले गीति क्षेत्रमा लाग्ने प्रतिभाको भविष्य सुन्दर छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सबै स्रष्टालाई माया गर्ने समाजसेवी व्यक्तित्वसमेत रहेका खनियालाई संस्थाले सम्मान गरेर संस्था आफैँ सम्मानित भएको बताए ।
प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले समका हरेक सिर्जनामाथि विमर्श आवश्यक रहेको धारणा राखे । उनले समलाई बहुआयामिक र कालजयी प्रतिभाका रूपमा चिनाउँदै योगदानको चर्चा जति हुनुपर्ने हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
डा. नारायणप्रसाद अधिकारीले साहित्य सिर्जनाको भाषा र संगीत विश्वको भाषा भएकाले साहित्य र संगीतले युगको प्रतिनिधित्व गर्ने बताए । उनले समलाई सिर्जनाबाटै जीवनदर्शन अनुभूत गर्न सकिने बहुमुखी प्रतिभाका धनी नेपालका अविस्मरणीय महान् स्रष्टाका रूपमा चिनाए ।
पूर्व सम्मानित प्रतिभा डा. पुष्पा केसी भण्डारीले समाजसेवी इन्द्रबहादुर जिसी वैदिक सनातन संस्कार संस्कृतिका संरक्षक र उहाँकी जहान हुमा जिसीलाई कृषि कर्ममा लाग्ने मेहनती किसानका रूपमा चिनाइन् । उनले थपिन “तत्कालीन समय काठमाडौंबाट काउली ल्याएर खानुपर्ने परिस्थितिमा इन्द्र–हुमा परिवार आफ्नो करेसाबारीमा ठूला काउली फलाउनु हुन्थ्यो, सरसफाइमा निकै ध्यान दिनुहुन्थ्यो ।”
गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले सम्मानित प्रतिभाको परिचय राख्दै गीत लेखन र संगीत संयोजनमा क्रियाशील खनियाका २० गीत बजारमा आइसकेको बताए । उनले खनियाका गीत लोकप्रिय र कर्णप्रिय भएकाले नै प्रख्यात गायकगायिकाले स्वर दिएको दाबी गरे ।
सम्मानित प्रतिभा गीतकार खनियाले सदा पर्दा पछाडि रहने गीतकारमाथि संस्थाको नजर पर्नुमा खुसीको कुरा भएको बताउँदै यो सम्मान सम्पूर्ण गीतकारहरूको सम्मानका रूपमा लिएको बताए । साथै उनले कोष स्थापना गर्ने परिवारप्रतिसमेत आभार व्यक्त गरे ।
इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले आमा सीता जिसीले आफ्ना बाबुआमाले समाजमा पु¥याएको योगदानलाई जीवन्त तुल्याउन कोष स्थापना गरेर साहित्य सिर्जनामा लाग्ने प्रतिभालाई प्रोत्साहित गर्न पाउनु परिवारका लागि गौरवको विषय भएको बताउँदै सम्पूर्णलाई आभार व्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र केसी, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गीतकार प्रतिष्ठान नेपालका उपाध्यक्ष अनुराग अधिकारी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, साहित्यकार विष्णु बास्तोला, असफल गौतमलगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर