राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादीहरूले जलाइदिएका छन्।
भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादीको समूहले बालकुमारीको सिसिआरसी कलेज अगाडि फेला पारेको थियो। उनलाई उतारेर त्यहीँ गाडीमा आगजनी गरिएको परियारले जानकारी दिए।
‘म भक्तपुरतर्फ जाँदै थिएँ। उनीहरूले बालकुमारी पुलनजिकै प्रदर्शनकारीसँग जम्काभेट भयो। उनीहरूले मलाई उतारे। गाडीमा आगजनी गरे,’ परियारले भने। उनले आफू सुरक्षित रहेको र भर्खर भक्तपुर आइपुगेको बताए। ‘म सुरक्षित छु। भक्तपुर आइपुगेको छु,’ उनले भने।
यसैबीच राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ।
लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। अहिले नेपाली सेना तीनकुने, जडिबुटी क्षेत्रमा तैनाथ भएको छ। बख्तरबन्द गाडीसहित सेना सडकमा तैनाथ छ भने प्रदर्शनकारी पनि सडकमै छन्। उनीहरूले नाराबाजी पनि गरिरहेका छन्।
राजसंस्था फर्काउने राजावादीको शुक्रबारको प्रदर्शन ध्वंस र हिंसात्मक बनेको छ। पत्रकारसहित दुईजनाले ज्यान गुमाएका छ्न् । राजावादीले आगजनी गरेको तीनकुनेस्थित भवन भित्र जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको छ । प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले पनि ज्यान गुमाएका हुन् ।
निजी घर, सञ्चार गृह, सरकारी भवन र सवारी साधनलाई समेत निशाना बनाएका राजावादीले कोटेश्वरमा रहेको भाटभटेनीमा लुटपाट नै मच्चाएका छन्।
त्यहाँ रहेका सुरक्षा गार्डलाई हातपात गर्दै भित्र पसेका प्रदर्शनकारीले भुइँतलाबाट सामग्री लुटेका थिए। केही प्रदर्शनकारीले हातहातमा बियरका सिसी बोकेर हिँडिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ।
भाटभटेनीका सञ्चालकले जानकारी दिएअनुसार त्यहाँ साढे तीन बजेदेखि नै प्रदर्शनकारीले लुटपाट सुरू गरेका थिए। समयमै सुरक्षाकर्मीलाई खबर गरिए पनि आउन ढिलाइ भएपछि प्रदर्शनकारीको मनोबल बढेको र लुटपाट मच्याएको भाटभटेनीले बताएको छ।
त्यहाँ लुटपाटसँगै तोडफोडसमेत गरिएको सञ्चालकले बताएका छन्। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरे।
राजावादीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाए। त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलेका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।
पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्। बालकुमारी पारिपट्टि पनि सवारी साधन जलाइएको प्रहरीले जानकारी दिएको छ। दुवै गाडीको नम्बर खुल्न सकेको छैन। पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड भएको छ।
हिंसात्मक प्रदर्शन गर्दै हिँडेका राजावादीले शुक्रबार अपराह्न एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए। राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा अहिले ४ः२५ बजेदेखि राति १० बजेसम्म कर्फ्य आदेश जारी गरेको छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण