पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित एमालेका प्रभावशाली नेताहरूले २०७८ भदौ ८ गते नेकपा (एमाले) विभाजन गरी एकीकृत समाजवादी दर्ता गरे।
एमाले हुँदा नै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तिक्तता फराकिलै थियो। माओवादी केन्द्र मिसिएर नेकपा बनेपछि केही समय सुलह भएको उनीहरूभित्रको विवाद पुनः बल्झिएर विग्रहको रूप लिएको थियो।
२०७७ पुस ५ गते संसद विघटन गरेपछि नेकपाभित्र कलह झन् चुलियो। अन्ततः नेकपा विघटन नै भयो। एमाले र माओवादी केन्द्र अलगअलग अस्तित्वमा फर्किए।
त्यसपछि पार्टीमा स्थान नपाएका माधव नेपालहरूले अलग्गै पार्टी दर्ता गरेका थिए। एमाले विभाजनपछि केपी शर्मा ओली र माधवकुमार नेपालबीच राम्रो बोलचाल पनि भएको थिएन।
ओलीलाई एकीकृत समाजवादीको अस्तित्व स्वीकार्नै कठिन भयो। त्यसो त २०७८ भदौ ८ मा पार्टी विभाजन गरेपछि एमालेले ९ महिना राम्रोसँग संसद चल्न दिएन। सभामुख अग्नि सापकोटाले षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप लगाइरह्यो। सभामुखविरूद्ध सदनमा आवाज गुञ्जाइरह्यो।
पार्टी विभाजनपछि एकार्काविरूद्ध गालीगलौजकै तहमा उत्रिएका नेताहरूबीच सोमबार सौहार्द दृश्य देखियो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय पुगे।
गत चैत १५ गते राजावादीहरूले गरेको तोडफोड अवलोकनको संयोग जुराएर एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर छिरेका ओलीले केहीबेर पुराना सहकर्मीसँग भलाकुसारी गरे। सञ्चो, विसञ्चो सोधे। हार्दिकता साटासाट गरे।
प्रधानमन्त्री ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, एमालेबाट निष्कासनमा परेका भीम रावललगायत नेताहरू एउटै कोठामा सौहार्दपूर्वक बसेको दृश्यले आँखा शीतल गराएको प्रकाश ज्वालाले बताए।
उनले तुरुन्तै पुलकित हुँदै फेसबुकमा फोटो सेयर गरे। र, लेखे–आइसब्रेक!
‘लामो समय संवादहीनतामा रहेका, भेट्दा बोलचालै नहुने नेताहरू एउटै कोठामा बसेको दृश्य रमाइलो थियो। यसले संवाद, सहकार्यको वातावरण बनाएको छ,’ उनले भने, ‘कमल कोइरालालाई श्रद्धाञ्जली दिने मौका पारेर भएको भेट किन नहोस्, यसले राम्रै सन्देश दिएको छ।’
पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपटक एकीकृत समाजवादी कार्यालय पुगेका हुन्।
गत चैत १५ गते राजावादीहरूले एकीकृत समाजवादीको तीनकुनेस्थित पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए। जसबाट ५० लाख रुपैयाँको क्षति भएको एकीकृत समाजवादीले जानकारी दिएको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’