६ जना एआईजी बढुवा सिफारिस, राअविबाट समायोजित टोली आईजी रेसबाट बाहिरियाे

बढुवा

६ जना एआईजी बढुवा सिफारिस, राअविबाट समायोजित टोली आईजी रेसबाट बाहिरियाे

aig- 6 purpose

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त एआईजी पदमा ६ जना डिआईजी बढुवा सिफारिस भएका छन् ।

एक नम्बरमा चन्द्रकुबेर खापुङ सिफारिस हुँदा नमस्ते टोली भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागबाट समायोजन भएकाहरु छुटेका छन् । यससँगै अब राअविबाट समायोजित टोली आईजी रेसबाट बाहिरिएका छन् ।

बरियताक्रम अनुसार चन्द्रकुबेर खापुङ,लालमणी आचार्य र कृष्णहरी शर्मा पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस भएका छन् । १११ को ब्याचबाट दानवहादुर कार्की,राजन अधिकारी र डा.मनोज केसी बढुवा हुँदा राअबिबाट आएको टोली भने रोकिएको छ ।

२०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोली डीआईजी बढुवा हुँदा २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोली छुटाइएको हो। यसअघि रवि लामिछाने गृहमन्त्री र वसन्तबहादुर कुँवर आईजीपी हुँदा उनीहरूलाई पहिलोपटक डीआईजीमा पछि पारिएको थियो।

त्यतिबेलै गृहमन्त्री र आईजीपीले प्रहरीको नेतृत्वमा पुग्न नदिने भन्दै उनीहरूलाई छुटाएका थिए। पुनः अहिले त्यही रणनीतिलाई सदर गर्दै एआईजी बढुवा सूची सार्वजनिक भएको हो।

उनीहरुले एसएसपीसम्म आफूहरु अगाडि बढुवा भएको भन्दै एआइजी बढुवामा सिनियरिटीका लागि दबाब बढाएका थिए । उक्त टोली बाहिरिदा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएको १११ टोलीबाट आगामी प्रहरी महानिरीक्षक सुनिश्चित भएको छ ।

नेपाल प्रहरीको ‘१११ टोली’ ले डीआईजी बढुवाको वरियता कायम हुनुपर्ने विषयलाई जोडतोडका साथ उठाइरहेको थियो । तर, राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन भएको टोलीले त्यस्तो अभ्यास अबलम्बन गरिनु हुँदैन भन्दै आफ्नो पक्षको अडानलाई राजनीतिक नेतृत्वमार्फत व्यापक बनाएको थियो ।

प्रहरी इन्स्पेक्टर दर्जामा २०५४ चैत १८ मा नियुक्त भएको टोलीलाई ‘१११’ भनिन्छ । उक्त टोलीले अहिले अनुसन्धान विभाग सेवा परिवर्तन गरी प्रहरी सेवामा आएका अधिकृतलाई रोक्ने प्रयास गरेका थिए ।

उनीहरु २०५३ पुस ५गते तत्कालीन राष्ट्रिय गुप्तचर विभाग (पछि अनुसन्धान विभाग) को अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीमा समायोजित भएका थिए ।

१११ टोली २०५५ वैशाखबाट तालिममा प्रवेश गरेको थियो । अनुसन्धान विभागबाट समायोजित टोलीले २०५८ साउन १८ मा इन्स्पेक्टरको टोलीसँगै तालिममा सरिक भएको थियो । नेतृत्वमा पुग्ने अवस्थामा रहेको अनुसन्धान विभागको टोलीलाई रोक्न अहिले नै एआईजीमा पछि पारिएको हो। त्यसअघि एसएसपीसम्म बढुवा हुँदा भने २०५४ को टोलीभन्दा अनुसन्धान विभागको टोलीका ३ जना अगाडि थिए।

नेपाल प्रहरीको विद्यमान व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते चन्द्रकुवेर खापुङको आईजी बन्ने बाटो खुलेको छ । उनले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन् ।

त्यसपछि एआईजी बढुवाको वरियताअनुसार नै आईजी नियुक्त भए दानबहादुर कार्कीले पालो पाउने छन् । यसमध्ये लालमणि आचार्य जेठ ११ गते उमेरहदका कारण अवकास हुन्छन् । खापुङ, आचार्य र शर्मा २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।

बीचमा ३० वर्षको सेवा हद हेरफेर भएर उमेरहदले अवकाश हुने व्यवस्था भएमा अहिलेका आइजी दीपक थापाले २०८४ चैत ३ गतेसम्म जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसपछि मात्रै दानबहादुर कार्की, राजन अधिकारी वा डा. मनोजकुमार केसीमध्येबाट आईजी बन्नेछ । राअवि टोली उमेर र सेवा हदका कारण त्यसआगावै अवकाशप्राप्त भइसक्छ ।

अनुसन्धान विभागबाट आएको टोलीले पहिलेको वरियताअनुसार आगामी कात्तिक २७ गतेदेखि प्रहरी संगठनको नेतृत्व गर्ने थियो। यो टोलीबाट २०८३ पुस ५ गतेसम्म नेतृत्व गरेपछि मात्रै अहिले एआईजीमा सिफारिस भएका दानबहादुर कार्की, राजन अधिकारी र मनोज कुमार केसी मध्येबाट आईजीपी बन्ने थिए। उनीहरू तीनै जना २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।

यो ब्याचले अहिलेकै व्यवस्थामा अनुसन्धान विभागाको टोलीपछि पनि १५ महिना संगठनको नेतृत्व गर्न पाउने थियो। तर रवि र वसन्तले गरेको डिजाइनलाई अहिलेको सरकारले पनि सदर गरेपछि एउटा टोलीलाई नै नेतृत्वमा पुग्न नदिने गरी छुटाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ