नेपालको इच्छापत्र- ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू’

नेपालको इच्छापत्र- ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू’

सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने

pradeep-nepal

काठमाडौं । मंगलबार अपरान्ह निधन भएका बामपन्थी नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।

नेपालप्रति अन्तिम श्रद्धाञ्जली अर्पणको कार्यक्रम बेलुकी ६ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह अगाडि नै हुने भएको छ । उनकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम पार्टी कार्यालयमा नराखिने भएको छ ।

पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।

आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ । तर, राष्ट्रिय झण्डा ओढाइनेछ ।

नेता नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै लगभग निष्क्रिय थिए । उनी तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी भएनन् । नेकपा विभाजनपछि उनी एमालेमा रहेर पनि सक्रिय थिएनन् । एमाले विभाजनपछि माधव नेपाल पक्षले उनलाई पार्टीको कमिटीमा राखे पनि स्वीकार गरेनन्, बरु एमालेमै सदस्यता नवीकरण गरेर बसे ।

तर, विगत एक दशकभन्दा लामो समयदेखि उनी पार्टी राजनीतिमा थिएनन् । स्वास्थ्यका कारण समेत नेता नेपाल सक्रिय नभएको भाइ समिर नेपालले बताए । उनी कम्युनिस्ट पार्टीहरुको विभाजन र नेतृत्वका गतिविधिसँग असन्तुष्ट थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ