काठमाडौँ । ५ वर्ष ८ महिना थुनामा बसेपछि वीरगन्जका २१ वर्षीय बिरन्जन यादव निर्दोष साबित भएका छन् ।
काठमाडौँको घट्टेकुलोमा दिदी र भिनाजुसँग बस्ने २१ वर्षीय बिरन्जन यादव छात्रवृत्तिमा सरस्वती क्याम्पसमा बीबीए प्रथम वर्षमा पढ्दै थिए । पढाइमा अब्बल बिरन्जनको जीवनमा २०७६ भदौ २३ मा नयाँ मोड आयो । महिला सेल, कालीमाटीबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरे ।
उनीविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान र अभियोजन भयो । २०७७ असोज २६ मा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठले बिरन्जनलाई १२ वर्ष कैद सजाय हुने फैसला गरिन् । श्रेष्ठको इजलासले नाबालिगमाथि बलात्कार भएको मुख्य आधार लिएर सो फैसला गरेको देखिन्छ । त्यसपछि उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र नरिश्वर भण्डारीले २०७८ फागुन २६ मा सजाय घटाएर ७ वर्ष कायम गरे ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई सफाइ दिने फैसला गरेसँगै उनी रिहा भएका हुन् । बिरन्जनको पक्षबाट बहस गरेका अधिवक्ता डा. गजेन्द्र अर्यालले भने, ‘कारागार कार्यालय रामेछापबाट उहाँ २०८२ जेठ २ मा छुट्नुभएको छ ।’
उजुरीकर्ता किशोरी ९ कक्षामा पढ्दै थिइन् । २०७६ साउन २५ साँझ मैतीदेवीमा पुस्तक किन्न जाँदा भेटेर घट्टेकुलोस्थित डेरामा ल्याएर ५ बजेर ३० मिनेटमा बिरन्जनले बलात्कार गरेको उनको आरोप थियो । बलात्कार गरेको भनिएको समयभन्दा करिब १ महिनापछि ती किशोरी प्रहरीकहाँ पुगिन् ।
स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा. श्रीराम खड्काले पीडितको कन्याजाली पुरानो च्यातिएको र सामान्य अवस्थामा रहेको बकपत्र गरिदिए ।पीडितकी आमा र अर्की एक जना महिलाले बलात्कार भएको विषयले पीडितले नै भनेर थाहा पाएका हौँ भनेर बकपत्र गरे ।
घटना हुँदा आफू नाबालिग (१८ वर्षभन्दा कम उमेर) रहेको पीडितको जिकिर थियो । पीडितले आफ्नो नाम पनि ढाँटेकी थिइन् । तर, अनुसन्धान गर्ने प्रहरी अधिकृत र अभियोजन गर्नेहरूले उमेर र नाम भेरिफाइ नगरकिनै मुद्दा अदालतमा लगेको देखिएको छ ।
त्यसबिचमा बिरन्जनलाई विभिन्न कारागार सरुवा गरिँदै थियो । नख्खु कारागारमा रहँदा २०७९ वैशाख महिनामा बिरन्जनले सर्वोच्चमा पुनरावेदन गरे । सामान्य परिवारमा जन्मेका बिरन्जनको परिवारसँग मुद्दा लड्ने पैसा थिएन । उनका बुबा वीरगन्जस्थित नेशनल मेडिकल कलेजका चालक हुन् ।
सामान्य तलबले परिवार धान्न धौधौ थियो । अधिवक्ता डा. अर्यालले सर्वोच्चमा उनको पक्षमा निःशुल्क बहस गरिदिए ।
जाहेरीमा पीडितले आफू नाबालिग उल्लेख गरेकी थिइन् । अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूले उमेर निर्धारणका लागि शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई आधार मानेर अनुसन्धान प्रतिवेदन बुझाए । सरकारी वकिलले पनि किटानी जाहेरी र बयानलाई आधार मानेर लापरबाहीपूर्ण अभियोजन गरे ।
वारदात हुँदाका अवस्थाको उमेर र स्थानीय निकायमा भएको जन्मदर्ता रजिस्टर अनुसार पीडितको उमेर १८ वर्षभन्दा माथि रहेको देखिएको छ । डा. अर्याल भन्छन्, ‘पीडितको जन्ममिति र नामथर नै फरक भेटिएको छ ।’
२०५७ मंसिर ५ मा जन्मेकी किशोरी घटना भएको समयमा १८ वर्ष पूरा भइसकेकी थिइन् ।
२०८२ वैशाख ३१ मा सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालले सफाइ हुने फैसला गरेपछि रिहा भएका उनी आफ्नो गाउँघर वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ मा पुनर्स्थापित हुने अर्को लडाइँमा छन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो