कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी पनि कारबाहीमा, ३ महिना निलम्वन

कारबाही

कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी पनि कारबाहीमा, ३ महिना निलम्वन

केसीको प्रतिक्रिया : ‘गुट र चाकडीको राजनीति हाबी भो, मैदान छाड्दिनँ, २०८४ मा पुनः आमनेसामने हुनेछौं’

Krishna-Kc

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको आरोपमा कास्कीका पूर्व  सभापति कृष्ण केसीलाई कारबाही गरेको छ। क्षेत्रीय सहसचिव तथा पोखरा वडा नम्बर ९ की वडा सदस्य भावना श्रेष्ठलाई कारबाही गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले एक विज्ञप्ति जारी गर्दै केसीलाई ३ महिना र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो। सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) र (ख) बमोजिम कारबाहीको निर्णय लिएको जनाएको छ।

निवर्तमान सभापति केसी कास्की क्षेत्र नम्बर १ मा टिकटको आकांक्षी थिए । तर उनलाई उछिन्दै कास्की जिल्ला सभापति किशोरदत्त बरालले टिकट ल्याएपछि उनलाई हराउन सक्रिय भएको आरोप केसीमाथि थियो । कास्की–१ मा केसीले असहयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । वडा सदस्य भावनाले पनि कास्की–२(ख) मा विन्दुकुमार थापालाई नै हराउन लागेको भन्दै उजुरी परेको थियो ।

समितिले केसी र श्रेष्ठसँगै अन्य जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई पनि कारबाही गरेको छ। चुनावमा अन्तर्घात गरेको आरोपमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विश्वकुमार राई र पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको छ।

त्यसैगरी, धनुषा, कैलाली लगायतका जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरूलाई पनि ६ महिनासम्मका लागि निलम्बन गरिएको छ। अनुशासन समितिले २०८२ असार १ गतेदेखि १७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेदवारलाई पराजित गराउने मनशायले सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यमबाट असहयोग गर्नेहरूमाथि छानबिन गरी कारबाहीको निर्णय लिएको जनाएको छ।

केसीको प्रतिक्रिया : ‘गुट र चाकडीको राजनीति हाबी भो, मैदान छाड्दिनँ, २०८४ मा पुनः आमनेसामने हुनेछौं’

कांग्रेस कास्कीका पूर्व सभापति केसीले पार्टीले आफूलाई गरेको निलम्बनपछि कडा प्रतिक्रिया दिएका छन्।

त चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोपमा कांग्रेस अनुशासन समितिद्वारा ३ महिनाका लागि निलम्बित भएपछि केसीले सामाजिक सञ्जालमा भाँचिएको गोडाको तलदेखि माथिसम्म प्लास्टर गरिएको तस्वीर सार्वजनिक गर्दै पार्टीभित्र निष्ठा र संघर्षको होइन, गुट र चाकडीको राजनीति हाबी भएको आरोप लगाएका छन्।

आफ्नो राजनीतिक मूल्याङ्कन संघर्षले नभई गुटबन्दीका आधारमा गरिएको भन्दै उनले निर्णय प्रक्रियामा संलग्न नेताहरूलाई व्यङ्ग्यात्मक धन्यवाद दिएका छन्। “नेपाली कांग्रेस कास्कीमा लामो समयदेखि निष्ठा, मिहिनेत र संघर्ष प्राथमिकतामा छैन, बरु नेता र गुटको चाकडी, अस्वाभाविक स्वार्थको साझेदारी नै प्राथमिकताको आधार बनेको छ,” केसीले भने, “मलाई निलम्बन गर्न सिफारिस गर्नेदेखि निरन्तर कारबाहीको माग गर्ने र तिनकै इसारामा निर्णय गर्ने नेता वर्गलाई धन्यवाद दिन चाहन्छु। कम्तीमा अब स्पस्ट भयो—राजनीतिक जीवनको मूल्यांकन सेवाले होइन, चाकडीले हुन्छ।”

आफ्नो राजनीतिक विगत सम्झँदै केसीले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि हरेक मोर्चामा आफू होमिएको बताए। उनले भने, “झुट्टा मुद्दा खेपेँ, जेल गएँ, गोडा भाँचिए। माओवादी द्वन्द्वमा ज्यानको जोखिम मोलेर शान्तिको पक्षमा अडिएँ। ०५१ सालमा श्रीमती गुमाएर साना छोराछोरीसँग आँसु पुछ्दै पनि जनताको घरमा मत माग्न पुगेँ।” आफूलाई कुनै नेताले नभई जनताको विश्वासले नेता बनाएको उनको दाबी छ।

पार्टीबाट निकालिए पनि जनताको मनबाट आफूलाई कसैले निकाल्न नसक्ने बताउँदै उनले आफूले पार्टी र संगठनका नाममा गरेको योगदानको लेखाजोखा इतिहासले गर्ने बताए।

आफ्नो भविष्यको राजनीतिक यात्राबारे स्पष्ट पार्दै केसीले मैदान नछाड्ने उद्घोष गरेका छन्। “म मैदान छोड्दिन र भाग्दिन पनि,” उनले भने, “कसैले मलाई पार्टीबाट हटाएर आफ्नो सुरक्षित भविष्य खोज्नु भएको होला, तर २०८४ को चुनावी मैदानमा तपाईंहरू र म पुनः आमनेसामने हुनेछौँ।”

यसैगरी, २०७९ मंसिरको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा कांग्रेसकै उम्मेदवारलाई हराउन लागि परेको उजुरी परेपछि पूर्व मन्त्री कुमार खड्का पनि निलम्वित भएका छन् । केन्द्रीय अनुशासन आयोगले पार्टीको विधानविपरीतका गतिविधि गरेको भन्दै खड्कालाई पनि निलम्वन गरेको हो ।

खड्कालाई १ वर्ष निलम्वन गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टी उम्मेदवार बिन्दु कुमार थापालाई हराउन सक्रिय भएको आरोप खड्कामाथि थियो ।

सम्बन्धित समाचारः

पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाटसमेत निष्कासित

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ