विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए ।
‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। ‘
सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ उनले भने ।
युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने पनि उनले बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । ‘लोकतन्त्रको पर्यावाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई युवा माझ लिएर जानुपर्छ । कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’
पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए ।
‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’
जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा