उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी

कांग्रेस र एमालेका सांसद्हरुको हस्ताक्षर संकलन

indira-rana_mivkhNglJa

सत्ता साँझेदार कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका छन् ।

कांग्रेस र एमालेले गत वर्षनै रानालाई पदबाट हटाउने प्रयास गरेका थिए। तर, संसद्‍मा दुई तिहाइ नपुग्ने र उपसभामुखलाई हटाउँदा सरकारको आलोचना झन् बढ्ने देखिएपछि उनीहरू गत वर्ष पछि हटेका थिए।

यसपटक रानालाई हटाउनको लागि संसद्‍मा दुई तिहाई पुर्‍याउन एकीकृत समाजवादीसँग पनि उनीहरूले सहयोग मागेका स्रोतले जनाएको छ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र शीर्ष नेताबीच छलफल चलिरहेको छ । अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् ।

उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै उनलाई हटाउने तयारीमा दुई दल लागेका हुन्। त्यस्तै एमाले पनि सांसदहरूलाई बोलाएको छ । एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ ।

गतवर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

राना रास्वपाको कोटाबाट उपसभामुख बनेकी हुन्।

हाल प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेको ७९ गरि १६७ सांसद् छन्। कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १६ जना सांसद आवश्यक पर्छ। साना दलकाे सहयाेगबिना सभामुखलाई हटाउन सम्भव देखिँदैन।

कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो । महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।

७ माघ २०७९ मा उपभामुख बनेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद इन्दिरा रानामगरको डेढ वर्षपछि एउटा पत्र सार्वजनिक भयो ।

रानाले दूतावासलाई एउटा पत्रमार्फत अमेरिकाको न्युयोर्कमा हुन लागेको एक सम्मेलनमा आफूसँगै जाने पाँच जना व्यक्तिकाे नाम उल्लेख गरेकी थिइन् । उनले उक्त टिममा समावेश ती सबै जना आफ्नो सचिवालयमा रहेको भन्दै पाँच जनाको नाम समावेश गरेकी थिइन् । उक्त टिममा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ थिए, जसलाई अन्तर्वार्ता मिति राख्न आग्रह गरेकी थिइन् ।

उपसभामुखको लेटरप्याड प्रयोग गरेर लेखिएको उक्त पत्रमा उल्लेख भएका पाँच जना गैरसम्बन्धित भएकाे खुलेपछि उनीमाथि संसदमा प्रश्न उठेकाे थियाे । तत्कालीन विपक्षी दलले रानाकाे राजीनामा माग गरेका थिए । त्यतिबेला नेपाली कांग्रेस प्रमुख विपक्षी दल थियाे । गृहमन्त्री रास्वपा सभापति रवि लामिछाने थिए । रास्वपाभित्र यसबारे उजुरी परे पनि पार्टीले उक्त उजुरी चुपचुप राखेकाे पछि मात्रै खुलेकाे थियाे ।

उपेन्द्र गौतम रास्वपा झापाका नेता थिए भने अरु रकम बुझाएर अमेरिका उड्न खोजेका थिए । त्याे बेला खोजबिन गर्दा उनीहरू उड्न नपाएको खुल्यो । अनि रकम पनि फिर्ता भएको बताइएपछि नेताहरू चुप बसेकाे नेताहरूले बताएका थिए ।

तर, एकाएक साउन २०८१ मा रानाले अमेरिकी दूतावासमा लेखेको उक्त पत्र सार्वजनिक भयो । कांग्रेस र एमालेका सांसदहरूले मानव तस्करीमा जोडिएको भन्दै उनको राजीनामा जाेड्दार रूपमा उठाए । कांग्रेस सांसद रामहरि खतिवडाले  सुरूमा संसदमा याे प्रशङ्ग उठाएर विषय प्रवेश गराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ