लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति नेपालले आपत्ति जनाएपछि चीनका राष्ट्रपति सी चिनफिङले नेपालको अडान प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको बताए।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति नेपालको तर्फबाट आपत्ति जनाएका थिए।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन थियानजिन पुगेका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग आज भएको भेटमा सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई प्रयोग गर्ने सहमति स्वीकार्य नहुने बताए।
‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ’, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भनेका थिए, ‘नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ।’
नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटवार्तामा दुई देशबीच मित्रता, सहकार्य र सम्बन्ध विस्तारका विभिन्न विषयमा कुराकानी भएको र उपलब्ध संयन्त्रमार्फत सहकार्यलाई अझै प्रगाढ बनाउन सहमति भएको पनि जानकारी दिइएको छ।
प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका अनुसार भेटमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनामा गतिशीलता ल्याउने र त्यसले नेपालको आर्थिक-सामाजिक प्रगतिमा योगदान गर्ने विषयमा समेत छलफल भएको थियो। चीनले नेपाललाई निर्यात वृद्धि, गुणस्तरीय कृषि उत्पादन प्रवर्द्धन र भूपरिवेष्टित अवस्थाबाट भू-जडित बनाउन सघाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
भेटमा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त तथा बद्रीप्रसाद पाण्डे, सांसद छविलाल विश्वकर्मा, आर्थिक सल्लाहकार डा. खतिवडा, सचिव राईलगायत नेपाली टोली सहभागी थिए। चीनतर्फबाट चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ पनि उपस्थित थिए।
प्रधानमन्त्री ओलीको यस कार्यकालको यो चौथो र चालु वर्षको दोस्रो चीन भ्रमण हो। भ्रमणका क्रममा बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग भेटवार्ता गर्ने र एससिओ शिखर सम्मेलनमा विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ।
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
अव्यवस्थित बस्ती हटाउन ऐतिहासिक सफलता, सुकुम्बासी भन्दा हुकुमवासी बढी हुँदा सहज
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प